गैरसरकारी संस्था महासंघ नेपाल कञ्चनपुरको अध्यक्षमा तिरुवा
कञ्चनपुरः गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा कञ्चनपुरको १२ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अमिर तिरुवा चयन भएका छन्। बुधबार सम्पन्न गैरसरकारी संस्था महासंघ नेपाल, कञ्चनपुरको २४ औँ साधारण सभा तथा १२ औँ जिल्ला अधिवेशनबाट तिरुवा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन।
साथै उपाध्यक्षमा अञ्जु जोशी (भट्ट), सचिवमा शारदा जोशी, सहसचिवमा अम्बादत्त जोशी र कोषाध्यक्षमा नारु सिंह चयन भएका छन्। समितिको सदस्यहरूमा सिता बोहरा, जानकी जोशी, दुर्गा बडूवाल, शिला रैका, ईश्वर उपाध्याय, नैन सिंह पाल, विनोद विक्रम जैरु, माया नेगी र लक्ष्मी चन्द चयन भएका छन्।
नयाँ नेतृत्वले जिल्ला भित्र रहेका गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ। अधिवेशनको उद्घाटन कार्यक्रममा स्थानीय योजना, कानुन निर्माण प्रक्रियामा सहभागिता तथा संलग्नता, वकालत र दिगो विकासमा नागरिक संघ संस्थाहरूको भूमिका विषयक बहुपक्षीय संवाद गरिएको थियो। कार्यक्रममा सहभागीहरूले गैर सरकारी संस्थाहरूले समाज रुपान्तणमा उल्लेख्य भूमिका निर्वाह गर्नुपर्ने साथै कोठे कार्यक्रममा मात्रै सीमित नहुने प्रतिबद्धता जनाएका छन्। साथै जनजीविकाका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा विशेष जोड दिएका थिए।
यसैबिच, गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा कञ्चनपुरमा आबद्ध सङ्घसंस्थाहरूले पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीको उपचारका लागि ७३ हजार ९०५ रुपियाँ आर्थिक सहयोग प्रदान गरेका छन्। यसैबिच, पत्रकार महासंघ शाखा कञ्चनपुरका महिला उपाध्यक्ष धर्मा रोकायाले गैर सरकारी संस्थाहरूले गर्दै आएका समग्र कार्यक्रम तथा गतिविधिको पत्रकार महासंघलाई पूर्व जानकारी गरी सहजीकरण गर्न आग्रह गरेकी थिइन्।