नाकामा घर फर्किनेको घुइँचो, गौरीफन्टामा घण्टौँ लाइन
धनगढीः दुई–तीन दिनको लामो यात्रा । थकित शरीर । तर मनमा परिवारसँग भेट्ने उत्साह र उमङ्ग । वर्षौँपछि घर फर्किने नेपालीका लागि तिहार केवल पर्व मात्रै होइन, परिवारसँग पुनर्मिलनको अवसर पनि हो । आमाबुबासँग भेट्ने, दाजुभाइ तथा दिदीबहिनीसँग रमाउने र बालबालिकासँग समय बिताउने सपना बोकेर उनीहरू स्वदेश फर्किरहेका छन् ।
वर्षौँदेखि भारतमा रोजगारी गर्दै आएकी बनबेहडाकी कित्थि पनि आफ्ना बालबच्चासहित घर फर्किएकी छन् । गौरीफन्टा नाकामा भेटिएकी उनको अनुहार लामो यात्राले थकित देखिन्थ्यो । तर, घर फर्किन पाउँदाको खुसी भने उनको अनुहारमा प्रस्ट झल्किन्थ्यो । भारततर्फको सीमामा करिब एक घण्टा लाइनमा बसेपछि मात्रै उनी नेपाली भूमिमा प्रवेश गर्न पाएकी थिइन् ।
‘घर आउन पाउँदा एकदमै खुसी लागेको छ । अब परिवारसँगै बसेर दीपावली मनाउने हो । सबैसँग भेटघाट गर्न पाइन्छ भन्ने खुसी छ,’ उनले भनिन्, ‘लामो यात्रा गरेर थकित अवस्थामा आइयो, सीमामा पनि उत्तिकै समस्या भयो ।’
घर पुग्ने हतारो र परिवारसँग भेट्ने उत्साह बोकेर सीमामा पुगेका यात्रुको खुसी घण्टौँ लाइनमा बस्नुपर्दा निराशामा बदलिने गरेको छ । भारतको लुधियानाबाट फर्किएका डोटीको बोगटानका शेरबहादुर बिहान ५ बजे नै गौरीफन्टा नाकामा पुगेका थिए । तर, लामो समय लाइनमा उभिएर सीमा पार गरेका उनी बिहान १० बजेसम्म पनि आफ्नो गन्तव्यतर्फको यात्रा अघि बढाउन सकेका थिएनन् ।
‘हामी बिहान ५ बजे नै पुगेका हौँ । धेरै भीड थियो । लामो समय लाइनमा लागियो । बिहानको १० बजिसक्यो, अझै घर जाने यात्रा सुरु गर्न सकिएको छैन,’ उनले भने, ‘आज घर पुगिन्छ कि पुगिँदैन भन्ने चिन्ता छ । भोलि भाइटीका छ, तर घर कतिबेला पुग्ने भन्ने टुङ्गो छैन ।’
भारतका विभिन्न सहरबाट दीपावली तथा छठ पर्व मनाउन नेपालीहरू धमाधम घर फर्किरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा लाग्ने जात्रा तथा मेलामा सहभागी हुन आउनेको सङ्ख्यासमेत बढेको छ । तर, यात्रुको चापअनुसार सीमामा व्यवस्थापन हुन नसक्दा उनीहरूले सास्ती खेप्नुपरेको छ । विशेषगरी भारततर्फको सीमामा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ ।
भारतबाट फर्किएका भीमबहादुर भुलका अनुसार लामो यात्राको थकानसँगै भारी सामान बोकेर घण्टौँ लाइनमा बस्नुपर्दा यात्रुलाई थप समस्या हुने गरेको छ । ‘एकातिर भारी सामान, अर्कोतिर लामो लाइन र घण्टौँको प्रतीक्षा । यात्रामै थाकेर आइन्छ, तर सीमामा पुगेपछि पनि सहज रूपमा छिटो आउन सकिँदैन,’ उनले भने, ‘सबै जना एउटै हुलमा हुँदा लामो समय कुर्नुपर्ने बाध्यता छ ।’
यात्रुहरूले ज्येष्ठ नागरिक, बिरामी, महिला तथा बालबालिकाका लागि छुट्टै लाइनको व्यवस्था गर्न माग गरेका छन् । सीमामा हुने अव्यवस्थित भीडका कारण शारीरिक रूपमा अशक्त, उपचार गराएर फर्किएका बिरामी, शल्यक्रियापछि आराम गर्नुपर्ने अवस्थाका व्यक्ति र काखमा दूधेबालक बोकेका महिलाले बढी सास्ती खेप्नुपरेको छ । लामो यात्रा गरेर थकित अवस्थामा रहेका उनीहरूलाई घण्टौँ लाइनमा उभिनुपर्ने बाध्यताले थप पीडा दिएको छ । यात्रुको चापलाई ध्यानमा राख्दै प्राथमिकताका आधारमा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिए आवागमन सहज हुने यात्रुको अपेक्षा छ ।