बयान फेरेको आरोपमा दुई सरकारी साक्षीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौँः अदालतमा बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। कैलालीको चुरे गाउँपालिका–६ का प्रेमसिंह ठगुन्ना र गोदावरी नगरपालिका–२ का किसनसिंह साउँदविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
अख्तियारको कञ्चनपुरबाट खटिएको टोलीले गत साउन ५ गते डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख ३१ हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको थियो। चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिर्माका तथा छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि यादवविरुद्ध भदौ २ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो।
उक्त घुस रकम यादवलाई दिएका ठगुन्ना र साउँदले अख्तियारसमक्ष बयान दिँदै घुस दिएको स्वीकार गरेपछि सुरुमा उनीहरूविरुद्ध मुद्दा चलाइएको थिएन। तर विशेष अदालतमा बयान दिने क्रममा उनीहरूले आयोगमा दिएको बयानभन्दा फरक तथा विपरीत बकपत्र गरेको अख्तियारको ठहर छ।
अख्तियारका अनुसार मुद्दा अनुसन्धानका क्रममा दिएको उजुरी बयान र कसुर स्वीकार गरेबापत प्राप्त हुने सजाय छुटको सुविधा विपरीत फरक तथा झुट्टा विवरण पेश गरिएको पाइएको छ। यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत भएको आयोगको निष्कर्ष छ।
आयोगले सात लाख ३१ हजार रुपैयाँ बिगो कायम गर्दै ठगुन्ना र साउदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ।