सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा दिपेन्द्र जोशीलाई ‘नव प्रवर्तक खोज तथा अनुसन्धान युवा सम्मान’

२०८२ पुष २४, ०९:०३ खबर संवाददाता

धनगढी: चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२को अवसरमा सुदूरपश्चिम प्रदेश खोज तथा अनुसन्धान विभागका अध्यक्ष दिपेन्द्र जोशीलाई “नव प्रवर्तक खोज तथा अनुसन्धान युवा सम्मान” प्रदान गरिएको छ।

सूचना प्रविधि तथा रोबोटिक्सको क्षेत्रमा विकास, अनुसन्धान र प्रवर्द्धनमार्फत सुदूरपश्चिममै प्रविधिमैत्री वातावरण निर्माणमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ।

महोत्सवको विशेष समारोहबीच चैतन्य पाठशालाको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. टी. एन. जोशीले सम्मानपत्र प्रदान गरेका हुन्। यस्तै, चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले मायाको चिनो हस्तान्तरण गरेका थिए।

जोशीले नवप्रवर्तनको वर्तमान युगमा सुदूरपश्चिम प्रदेशमै सूचना प्रविधि र रोबोटिक्ससम्बन्धी अनुसन्धान, तालिम तथा परियोजनाहरू सञ्चालन गर्दै युवालाई प्रविधिमैत्री सोचतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। खोज, अनुसन्धान र प्रयोगात्मक सिकाइमार्फत युवालाई आत्मनिर्भर बनाउने उनको प्रयास समाजका लागि उदाहरणीय रहेको विद्यालयको भनाइ छ।

सम्मान ग्रहण गर्दै जोशीले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारी बोध गराएको उल्लेख गर्दै भविष्यमा पनि सुदूरपश्चिमका युवालाई प्रविधि, अनुसन्धान र नवप्रवर्तनतर्फ अग्रसर गराउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

“आजको युगमा प्रविधि सुविधा मात्र होइन, रोजगारी र विकासको मुख्य आधार हो। स्थानीयस्तरमै अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सके युवालाई बाहिर जानुपर्ने बाध्यता कम गर्न सकिन्छ,” उनले भने।

उनले विद्यार्थीहरूलाई सानैदेखि खोज्ने बानी, प्रयोग गर्ने साहस र नवीन सोच विकास गर्न आग्रह गर्दै विद्यालय तहबाटै प्रविधिमैत्री शिक्षाको आवश्यकता औँल्याए। “आजका विद्यार्थी नै भोलिका वैज्ञानिक, अभियन्ता र आविष्कारक हुन्। त्यसैले विद्यालयले जिज्ञासा र प्रयोगलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नु अत्यन्त आवश्यक छ,” उनको भनाइ थियो।

चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी विज्ञान, प्रविधि, अनुसन्धान र सृजनशील सोचतर्फ प्रेरित गर्ने उद्देश्यले यस्ता व्यक्तित्वलाई सम्मान गर्ने परम्परा सुरु गरिएको जानकारी दिए।

“विद्यार्थीले आफ्नै प्रदेशमै बसेर पनि प्रविधि र अनुसन्धानमा उत्कृष्ट काम गर्न सकिन्छ भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो,” उनले बताए।

चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, साहित्यिक, खेलकुद, सांस्कृतिक, विज्ञान प्रदर्शनी, रोबोटिक्स प्रस्तुति तथा विभिन्न प्रतिभा प्रदर्शनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। महोत्सवको मुख्य उद्देश्य विद्यार्थीको सर्वाङ्गीण विकास, परिवर्तनशील सोचको विकास, पठन संस्कृतिको प्रवर्द्धन तथा आत्मनिर्भर भविष्यतर्फ उन्मुख गराउनु रहेको विद्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस