धनगढीमा जनस्तरबाटै मनाइयो राष्ट्रिय एकता दिवस र ३०४ औं पृथ्वी जयन्ती
धनगढीः धनगढीका राष्ट्रिय एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्ती मनाइएको छ।
आइतवार धनगढी चौराहा तथा जेन्जी मार्गमा बडामहाराज पृथ्वीनारायण शाहको तस्विरमा मल्यार्पण गरेर नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरिएको छ। धनगढी चौराहामा राखिएको पृथ्वीनारायण शाहको तस्विरमा धनगढीको लक्ष्मीनारायण मन्दिरका श्री १००८ स्वामी देवराज आचार्यले मल्यार्पण गरेका हुन्। बडामहाराज पृथ्वीनारायण शाहको तस्विरमा उपस्थित सर्वसाधारणले समेत पुष्पगुच्छा चढाएर नेपाल एकीकरणको जग बसाल्ने राजाप्रति सम्मान व्यक्त गरेका छन्।
पृथ्वी जयन्तीकै अवसरमा पृथ्वीचोकबाट निकालिएको झाँकीले धनगढी जेन्जी मार्गमा पुगेर बडामहाराजधिराज पृथ्वीनारायण शाहको तस्विरमा मल्यार्पण गरेको छ। झाँकीमा धनगढी-७ मा रहेको माइलस्टोन विद्यालयका विद्यार्थी, बाजुरा सेवा समाज, अछाम सेवा समाज, धनगढीको एक मदरसा, पृथ्वीपथ प्रतिष्ठान, राष्ट्रिय सरोकार मञ्च नेपाल, स्वामी श्रीनिवास, लक्ष्मीनारायण मन्दिरका स्वामी श्री १००८ देवराज आचार्य र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। १७७९ सालमा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै धनगढी चौराहामा रहेको बडामहाराज पृथ्वीनारायण शाहकोको तस्विरमामा स्वामी देवराज आचार्य र जेन्जीमार्गमा राखिएको तस्विरमा कन्या मार्फत पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिएको छ।
पृथ्वी जयन्तीका अवसरमा यो वर्ष थारू समुदायको झाँकी, बजुरेली सेवा समाजको झाँकी, अछाम सेवा समाजको झाँकी तथा धनगढीको माइस्टोन विद्यालय र धनगढीकै मदरसाले झाँकी निकालेका छन्।
चौराहाबाट निकालिएको झाँकी जेन्जीमार्गमा माल्यार्पणपछि समापन भएको हो। धनगढीमा आजै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्ती मनाएको छ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरी विशाल नेपाल निर्माण गरेकाले हामीले नेपाली बन्न पाएको स्वामी श्री १००८ देवराज आचार्यले बताए।
उनले २०६२/६३ पछिका सुरूका केही वर्ष पृथ्वीजयन्ती मनाउँदा ढुङ्गामुढाको सामना गर्नु परेको स्मरण गरेका छन्। उनले अहिले राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्ती मनाउन स्वस्फूर्त रुपमा सार्वसधारको ठूलो संख्या जम्मा भएकोमा खुसी व्यक्त गरेका छन्।
नेपाल एकीकरणका जनक राजा पृथ्वीनारायण शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । उनले २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए।
यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्नुपर्ने सर्वसाधारणले बताएका छन्।
यो दिवसमा व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको कार्यक्रममा सहभागी भएका धनगढीका मनोज कार्कीले बताए। युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व रहेको बझाङका युवा भानुभक्त जोशीले बताए।
धनगढीका दीर्घराज जोशीले २०६२/६३ को राजनीतिक परिवर्नपछि आफूहरूले डर र धम्कीबिच समेत राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउन नछोडेको बताए। उनले अहिले देशभर राष्ट्रिय एकता र पृथ्वी जयन्ती मनाउन थालिएको भन्दै उनले २०६३ पछिका डर लाग्दो समयको चर्चा गरेका थिए। यस्तै जनककुमारी कुँवर, शिवराज भण्डारी लगायतले राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको महत्व बारे आफ्नो धारणा राखेका थिए।
राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई कायम राख्ने आधार तयार गरेको धनगढीको निसर्ग हस्पिटलका डाक्टर मेराज आलम अन्सारीले बताए। उनले राष्ट्र एकीकरण गरेर सिङ्गो नेपाल निर्माण गरेको राजा पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताए।
धनगढीको पृथ्वी चोकमा भएको कार्यक्रममा ७५ वर्षीय वेणीमाधव भट्टले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै अहिले देशको राजनीतिक परिस्थिति प्रति व्यङ्ग गरेका थिए।
कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यत्तिकै समयसान्दर्भिक छन्। भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिएका थिए।
राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्तीको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ, मुख्यमन्त्री कमलबहादुर शाहले समेत शुभकामना दिएका छन्।