सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ऐश्वर्य विद्या निकेतनका शिक्षक भट्ट नेपाली काँग्रेसका केन्द्रीय सदस्य!

२०८२ माघ ४, ०९:५४ नारायण अवस्थी

धनगढीः धनगढीको ऐश्वर्य विद्या निकेतनका एक शिक्षक नेपाली काँग्रेसका केन्द्रीय बनेका छन्। ऐश्वर्यका माध्यमिक तहका शिक्षक नरेन्द्रप्रसाद भट्ट नेपाली काँग्रेसका केन्द्रीय सदस्य बनेका हुन्।

नेपाली काँग्रेसकाले भर्खरै गरेको विशेष महाधिवेशनबाट भट्ट केन्द्रीय सदस्य बनेका हुन्। उनी बैतडीबाट केन्द्रीय सदस्य चुनिएका हुन्।

ऐश्वर्य विद्या निकेतनका प्रधानाध्यापक सञ्जय पन्तले शिक्षक भट्टले कक्षा ११ र १२ मा अध्यापन गर्दै आएको बताएका छन्। शिक्षक भट्टले आफू तीन महिनाका लागि काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेको बताएका छन्। उनले ऐश्वर्य संस्थागत विद्यालय भएकाले राजनीतिक दलको सदस्य बन्न शिक्षा ऐन र नियमावलीले निषेध नगरेको बताए।

'म विशेष महाधिवेशनबाट तीन महिनाका लागि पार्टीको केन्द्रीय सदस्य भएको हुँ। ऐश्वर्य स्कुल संस्थागत भएकाले शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन निषेध गरिएको छैन,' उनले भने, 'अहिले बिदा छ, विद्यालयको पठनपाठनमा बाधा नपर्ने गरी मैलै पार्टीको काम गर्ने हो। पूर्णकालीन राजनीतिमा लागेको होइन।'

शिक्षक भट्टले संस्थागत विद्यालय भएकाले राजनीतक दलको सदस्य हुन र पदमा बसेको बताएका छन्। उनले अध्यपनदलालई प्रभावित नहुने गरी पार्टीको काममा खटिने बताएका छन्। आगमी बैशाखमा पार्टीको महाधिवेशन हुने भएकाले त्यतिवेलासम्मका लागि पार्टीको केन्द्रीय सदस्य भएको बताएका छन्। विद्यालय समयमा पार्टीको काम नगर्ने उनले बताएका छन्।

शिक्षक भट्टले शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारणी समितिको सदस्य हुन नपाउने व्यवस्था भए पनि सोही ऐनको दफा २६झ मा संस्थागत विद्यालयको शिक्षक र कर्मचारीको हकमा दफा १६ङ मा भएको व्यवस्था लागु नहुने स्पष्ट उल्लेख भएको बताएका छन्।

गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौँमा भएको काँग्रेसको दोश्रो बिशेष महाधिवेशनबाट भट्ट केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन्। गगन थापा सभापति रहेको काँग्रेसको केन्द्रीय समिति सदस्यमा भट्ट चयन भएका हुन्। 

काँग्रेस केन्द्रीय सदस्यमा चयन भएका भट्ट २०५६ सालमा नेपाल विद्यार्थी संघ बैतडीको अध्यक्ष बनेका थिए। नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रही सकेका भट्ट नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत भइसकेका व्यक्ति हुन्। 

उनी बैतडीबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत छन्। नेपाली काँग्रेसको विभिन्न तहको जिम्मेवारी सम्हाल्दै आफू अहिले केन्द्रीय सदस्यमा चयन भएको भट्टले बताए। 


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस