पत्रकारहरूमाथि प्रहरीको धरपकड
काठमाडौंः प्रहरीले पत्रकारहरूलाई पक्राउ गर्न थालेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारमाथि प्रहरीले धरपकड गरेको हो।
नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार पक्राउ गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै विवरण सार्वजनिक गरेपछि उनलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ।
त्यस्तै, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पनि प्रहरीले अनामनगरबाट पक्राउ गरेको छ।
प्रहरीले पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा समेत टोली परिचालन गरेको छ। नयाँ पत्रिकाले इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलबीच कुराकानी हुने गरेको विवरण सार्वजनिक गरेको थियो।
यसैगरी, दियो पोस्टका प्रधान सम्पादक सुदिप विश्वकर्मालाई प्रहरीले खोजिरहेको जनाइएको छ। उनलाई खोज्दै प्रहरी टोली दियो पोस्टको कार्यालयमा समेत पुगेको बताइएको छ।