विद्युत् र सञ्चार सेवाका समस्या तत्काल समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन
धनगढीः सुदूरपश्चिम प्रदेशमा विद्युत् र सञ्चार सेवासम्बन्धी समस्या तत्काल समाधान गरी गुणस्तर सुधार र पहुँच विस्तारका योजना अघि बढाउन मुख्यमन्त्री खगराज भट्टले निर्देशन दिएका छन्।
नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार संस्थान र एनसेलका प्रदेशस्तरीय तथा क्षेत्रीय कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री भट्टले नागरिकका गुनासा सम्बोधन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरेका हुन्।
विद्युत् सेवामा ट्रान्सफर्मर अभाव, कम भोल्टेजका कारण बत्ती मधुरो हुने समस्या तथा दुर्गम क्षेत्रमा विद्युत् लाइन विस्तार हुन नसकेको गुनासो आइरहेको उल्लेख गर्दै उनले तत्काल समाधानका उपाय अवलम्बन गर्न निर्देशन दिए।
त्यस्तै, सञ्चार सेवातर्फ अप्टिकल फाइबर विस्तार, सेवाको गुणस्तर सुधार र दुर्गम क्षेत्रमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। सञ्चार सुविधा नपुगेका क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक योजना बनाउन उनले सम्बन्धित निकायलाई आग्रह गरे।
नागरिकले सहज र गुणस्तरीय विद्युत् तथा सञ्चार सेवा पाउने वातावरण बनाउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताए। उनले सेवा प्रवाहमा देखिएका समस्या समाधानसँगै आगामी दिनमा सेवा विस्तारका योजनालाई पनि तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्।