अतिविपन्न बालबालिकालाई सघाउँदै सामुदायिक वन
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–९ स्थित बृन्दावन सामुदायिक वनले अतिविपन्न अवस्थाका बालबालिकालाई दुई वर्षदेखि निरन्तर पठनपाठनमा सहयोग गर्दै आएको छ। सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत असिग्राम माध्यमिक विद्यालय तथा मङ्गल आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार, अतिविपन्न, आदिवासी जनजाति र दलित समुदायका बालबालिकाका लागि छात्रवृत्ति र विद्यालय पोशाक खरिदमा आवश्यक बजेट उपलब्ध गराउँदै आएको हो।
सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार गत वर्ष असिग्राम माध्यमिक विद्यालयलाई दुई लाख रुपियाँ उपलब्ध गराएकोमा यस वर्ष रकम बढाएर तीन लाख रुपियाँ सहयोग गरिएको छ। उनले भने, “गत वर्ष मङ्गल आधारभूत विद्यालयलाई पनि दुई लाख रुपियाँ दिएका थियौँ, तर यस वर्ष बजेट अभावका कारण सो विद्यालयलाई सहयोग गर्न नसकिएको हो।” उपलब्ध गराएको रकमबाट करिब तीन सयभन्दा बढी बालबालिका लाभान्वित भएका छन्।
वनले काठ, दाउरा र घाँस बिक्रीका साथै वनभित्र रहेको तालमा माछापालन गरेर आयआर्जन गर्छ। सोही आम्दानीको निश्चित हिस्सा शिक्षा क्षेत्रमा लगानी गरिएको अध्यक्ष ऐरको भनाइमा छ।
यस प्रकारको सहयोगपछि विद्यालयमा विद्यार्थीको टिकाउदर बढेको छ। असिग्राम माध्यमिक विद्यालयका शिक्षक नैनसिंह ऐरका अनुसार विपन्न परिवारका विद्यार्थीलाई पोशाक, छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध हुँदा आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने अवस्थाको अन्त्य भएको छ। “यो सहयोगपछि त्यस्ता विद्यार्थी बढी लाभान्वित भएका छन्,” उनले भने।
एक सय ९९ हेक्टर क्षेत्रफलमा फैलिएको बृन्दावन सामुदायिक वनमा छ सय ४३ घरधुरी आश्रित छन्। वन संरक्षणसँगै सामाजिक र शैक्षिक क्षेत्रमा गरेको योगदानले यो वन अन्य सामुदायिक वनका लागि आदर्श बनेको छ।