सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाडी देशहरुमा नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि `र्‍यापिड एक्सन टिम’ गठन

२०८२ फाल्गुन २०, ०८:०७ खबर संवाददाता

काठमाण्डौः सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका लाखौँ नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम शुरु गरेको छ । नेपालीको अवस्थाबारे नियमित जानकारी लिन, अन्तरसरकारी निकायसँग समन्वय गर्न तथा उद्धारका लागि आवश्यक र उपयुक्त कदम चाल्नका लागि सिफारिस गर्ने प्रयोजनले टिम गठन गरिएको हो ।

परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट परराष्ट्रसचिवको संयोजकत्वमा गठन भएको टिमले विभिन्न देश तथा अन्य अन्तरराष्ट्रिय संघसंस्थासँग समन्वय गर्नेछ । टिममा परराष्ट्र, गृह, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा विज्ञान प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायललगायत निकायका प्रतिनिधि रहने व्यवस्था छ ।

पराराष्ट्र मन्त्रालयको मध्यएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले टिमले कार्यादेशानुसार काम गर्न शुरु गरिसकेको जानकारी दिए। उनले ट्रान्जिट विमानस्थलमा रहेका नेपालीलाई खान बस्नको प्रबन्धका लागि सम्बन्धित विमान कम्पनी र निकायलाई आग्रह गरी समन्वय भइरहेको बताए। 

अमेरिका र इजरायलले इरानमाथि गएको शनिबार गरेको संयुक्त सैन्य आक्रमण र त्यसविरुद्ध इरानले प्रत्याक्रमण गरेपछि पश्चिम एसियाको स्थिति तनावपूर्ण भएको छ । इरानले पछिल्ला दिनमा विभिन्न देशका विमानस्थल, पेट्रोलियम प्रशोधन केन्द्रलगायत अतिसंवेदनशील स्थानमा आक्रमण गरेको छ ।

खाडी क्षेत्रमा रहेका १९ लाखभन्दा धेरै नेपाली नागरिकको सुरक्षा र रोजगारीको चिन्ता बढेको छ । दर्जनौँ उडान रद्द हुँदा त्यहाँ जाने तयारी अवस्थामा रहेका र स्वदेश फर्कने तयारी अवस्थामा रहेका नेपाली नागरिक पनि अलपत्र परेका छन् ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको र त्यसैअनुसार मन्त्रालयले काम गरिरहेको बताए। नेपाली नागरिकको सुरक्षा र समन्वयका लागि सो क्षेत्रका मुलुकमा अवस्थित नेपालका आठ दूतावास र दुई महावाणिज्य दूतावासबाट नियमित सूचना लिने र समन्वय भइरहेको उनले बताएका छन्। 

कमेन्ट लोड गर्नुस