सिरहा–३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव पक्राउ
गोलबजार (सिरहा): जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशेश्वर यादव गैरकानुनी गतिविधिको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा नगदसहित हिँडिरहेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको हो। नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त सुरक्षा टोलीले जाँचका क्रममा रोकेको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार जाँचका क्रममा गाडीबाट रु चार लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।