सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

२०८२ फाल्गुन २४, ०२:४६ अनिता चौधरी

धनगढीः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू विजयी भएका छन्।

कैलाली क्षेत्र नम्बर–१ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गरेका छन्। टीकापुर नगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका रामलाल डगौराले आठ हजार ३९२ मत प्राप्त गरे भने नेकपा (एमाले)का द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत पाएका छन्। यस क्षेत्रमा कुल ५९ हजार ६१ मत खसेको थियो।

कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी भएका छन्। उनले नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई पराजित गर्दै १९ हजार ५७ मत प्राप्त गरे। चौधरीले ११ हजार ९४९ मत पाए। नेकपा (एमाले)का सूर्यबहादुर थापाले सात हजार ८८६ तथा नेपाली कांग्रेसका विजयबहादुर स्वारले सात हजार २१३ मत प्राप्त गरेका छन्।

कैलाली–३ मा रास्वपाका जगतप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन्। उनले २० हजार ३५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका वीरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गरे। नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६ मत ल्याउँदा अन्य उम्मेदवारहरू त्यसपछि परेका छन्। यस क्षेत्रमा कुल ५९ हजार ७५९ मत खसेको थियो।

कैलाली–४ बाट रास्वपाका खेमराज कोइराला विजयी भएका छन्। उनले २८ हजार ५५६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी गोरखबहादुर विष्टलाई १७ हजार २५५ मतले पछि पारे। विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल एक लाख १५ हजार १४३ मतदातामध्ये ६३ हजार २९१ मत खसेको थियो।

कैलाली–५ मा रास्वपाका आनन्दबहादुर चन्द विजयी भएका छन्। उनले ३१ हजार ९५३ मत प्राप्त गर्दै नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई पराजित गरे। शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन्।

यसरी कैलालीका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले विजय हासिल गर्दै जिल्लामा ‘क्लिन स्वीप’ गरेका छन्।
 

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस