जनै लगाउनुको कारण र धार्मिक महत्त्व:मान सिंह धामी
धनगढी: हुन त म आफू क्षेत्री कुलको मान्छे हुँ, तथापि हाम्रा पुर्खा तथा अभिभावकको सिकाइ र उपनयनका क्रममा पुरोहितले सिकाएको गायत्री मन्त्रको आधारमा, आज आफ्नो अध्ययन र जानकारी अनुसार जनै लगाउनुको कारण र यसको धार्मिक महत्त्व प्रस्तुत गर्ने प्रयास गरेको छु।
हिन्दु धर्मअनुसार उपनयन संस्कारपछि ब्राह्मणद्वारा मन्त्र गरिएको जनै धारण गरिन्छ। वेद तथा धार्मिक ज्ञानमा पूर्ण दक्ष नभए पनि विभिन्न स्रोतबाट प्राप्त जानकारीले जनै धारणको आफ्नै महत्त्व रहेको कुरा स्पष्ट हुन्छ।
जनैको सम्बन्ध सत्ययुगको कथासँग जोडिएको छ। त्यतिबेला दानवबाट पीडित देवताहरूलाई गुरु बृहस्पतिले मन्त्र गरिएको यज्ञोपवीत लगाइदिएपछि उनीहरूको रक्षा भएको विश्वास गरिन्छ। यही आधारमा रक्षाबन्धन पर्वको सुरुवात भएको मानिन्छ।
उपनयन संस्कारपछि द्विज बालकले जनै धारण गर्छ, जसले उसलाई यज्ञ, स्वाध्याय तथा धार्मिक कर्म गर्ने अधिकार प्रदान गर्छ। ‘द्विज’ अर्थात् दोस्रो जन्म भन्ने अर्थमा जनैलाई उपवीत, यज्ञसूत्र वा ब्रह्मसूत्र पनि भनिन्छ।
जनै तीनवटा पवित्र धागोबाट बनेको हुन्छ, जसले ब्रह्मा, विष्णु र महेशको प्रतीक बोकेको हुन्छ। यसले देवऋण, पितृऋण र ऋषिऋणको स्मरण गराउँछ भने सत्त्व, रज र तम गुणको पनि प्रतिनिधित्व गर्दछ। यसलाई देब्रे काँधमाथि राखी दाहिने हातमुनि पारेर लगाइन्छ।
जनै धारण गर्नुले व्यक्ति अनुशासन, स्वच्छता र धार्मिक कर्तव्यमा बाँधिन्छ। सफाइको नियम पालना गर्नुपर्ने, समय-समयमा जनै परिवर्तन गर्नुपर्ने तथा अपवित्र अवस्थामा नयाँ जनै लगाउने परम्परा रहिआएको छ।
परम्पराअनुसार जनैको लम्बाइ ९६ अंगुल हुन्छ, जसले विभिन्न विद्या र कलाहरू सिक्ने दायित्वको संकेत गर्छ। साथै, जनै धारण गर्दा शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिन्छ।
जनैपूर्णिमा पर्व विशेषगरी यज्ञोपवीत परिवर्तनसँग सम्बन्धित छ, जसलाई प्राचीनकालमा ‘उपाकर्म’ भनिन्थ्यो। यस दिन ऋषिहरूको स्मरण, तर्पण तथा वैदिक परम्पराको अभ्यास गरिन्छ। अहिले भने यो पर्व धार्मिकसँगै सांस्कृतिक रूपमा पनि मनाइन्छ।
अन्ततः, जनै केवल धागो मात्र नभई वैदिक मन्त्रद्वारा संस्कारित, धार्मिक कर्तव्य, अनुशासन र सांस्कृतिक पहिचानको प्रतीक हो, जसले व्यक्तिलाई आफ्नो धर्म, संस्कार र परम्परासँग जोडिराख्ने काम गर्छ।
धन्यवाद।