आज विश्व पानी दिवस
धनगढीः आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व पानी दिवस मनाइँदै छ। बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन तथा पानीको अत्यधिक उपयोगजस्ता कारणले विश्वभर पानीको संकट गहिरिँदै गएको सन्दर्भमा यस दिवसको महत्व झन् बढेको छ।
नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि पानीको महत्वपूर्ण भूमिका’ भन्ने सन्देशसहित विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन्।
संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा मनाइँदै आएको यो दिवस सुरक्षित र स्वच्छ पानीको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले केन्द्रित छ। साथै, पानीको दिगो व्यवस्थापनका लागि आवश्यक रणनीति अवलम्बन गर्न र जनचेतना अभिवृद्धि गर्न यस दिवसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।