सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले नेता सुरेन्द्र पाण्डेले भने, '७७ जनाको ज्यानको न्याय निष्पक्ष प्रक्रियाबाट होस्'

२०८२ चैत्र १५, ०१:०१ खबर संवाददाता

धनगढी:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले ७७ जना नेपालीको ज्यान गुमेको घटनामा न्याय निष्पक्ष र प्रक्रियागत ढंगबाट हुनुपर्ने बताएका छन्।

आफ्नो धारणा स्पष्ट पार्दै उनले अघिल्लो अभिव्यक्तिलाई थप प्रष्ट पार्ने क्रममा उक्त कुरा बताएका हुन्। उनले कुनै पनि घटनामा न्याय स्थापित गर्न प्रमाण र प्रक्रियाको सही परीक्षण आवश्यक हुने उल्लेख गर्दै केही व्यक्तिमाथि मात्र दोष थोपर्ने हतारो न्यायका लागि नभई राजनीतिक सन्देशका लागि हुन सक्ने आशंका व्यक्त गरे।

उनले आफू र केपी शर्मा ओली बीचको राजनीतिक सम्बन्ध उतारचढावपूर्ण रहेको स्वीकार गर्दै एउटै पार्टीमा रहेको, अलग भएको तथा विभिन्न समयमा गम्भीर मतभेद भएको प्रसंग पनि स्मरण गरे। तर हालको आफ्नो अभिव्यक्ति राजनीतिक पक्षधरताभन्दा माथि उठेर जिम्मेवार नागरिकको हैसियतमा आएको उनले स्पष्ट पारे।

पाण्डेले ७७ जना नेपालीको ज्यान जानु सामान्य विषय नभएको उल्लेख गर्दै पीडित परिवारको न्यायको माग पूर्ण रूपमा जायज रहेको बताए। तर न्याय प्रक्रियामार्फत स्थापित हुनुपर्नेमा उनले जोड दिए।

साथै, उनले एमालेका कार्यकर्ताप्रति चिन्ता व्यक्त गर्दै पार्टीका हजारौँ कार्यकर्तालाई सडकमा उतार्ने र मुलुकलाई सम्भावित मुठभेडतर्फ धकेल्ने गतिविधि कसैको हितमा नहुने बताए। उनले निष्पक्ष न्याय प्रक्रियामार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

कमेन्ट लोड गर्नुस