सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवकाशपछि कृषि उद्यम : पूर्वप्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

२०८३ असार २६, ०३:३६ रासस

डडेल्धुरा: डडेल्धुरामा एक पूर्वप्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार गर्दै जिल्लामै नमुना कृषकका रूपमा पहिचान बनाएका छन्।

अमरगढी नगरपालिका–९ झुकाल गाउँका ६६ वर्षीय कमलसिंह झुकालले शिक्षण पेशाबाट अवकाश लिएपछि अमरगढी नगरपालिका–८ आलीमा गाडलेक बहुउद्देश्यीय कृषि फर्म स्थापना गरी करिब ७० रोपनी क्षेत्रफलमा आधुनिक कृषि व्यवसाय सञ्चालन गरिरहेका छन्। भूमिराज प्राविका पूर्वप्रधानाध्यापकसमेत उनले हालसम्म जग्गा खरिद, सिँचाइ, पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापनमा रु दुई करोड २० लाख लगानी गरिसकेका छन्। 

फर्ममा २५ रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी, २५ रोपनीमा फलफूल खेती तथा बाँकी जमिनमा पशुचौपायाका लागि घाँस उत्पादन भइरहेको छ। वर्षभरि उत्पादन कायम राख्न लिफ्टिङ प्रविधिमार्फत सिँचाइको व्यवस्था गरिएको छ।

पछिल्ला पाँच–छ वर्षदेखि व्यावसायिक कृषि गर्दै आएका झुकालले गत वर्ष करिब रु २० लाख बराबरको कारोबार गरेका थिए। सबै खर्च कटाएर करिब रु पाँच लाख बचत भइरहेको उनले बताए। 

उनका अनुसार कृषि व्यवसायबाट आम्दानीसँगै स्थानीय युवाका लागि रोजगारीको अवसरसमेत सृजना भएको छ। “अवकाशपछि खाली बस्नुभन्दा उत्पादनमूलक काम गरौँ भन्ने सोचले कृषि रोजेँ,” उनले भने, “मेहनत र लगनशीलता भए कृषि क्षेत्र पनि राम्रो आम्दानीको माध्यम बन्न सक्छ।”

झुकालको कृषि उद्यमलाई कृषि ज्ञान केन्द्र डडेल्धुरा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएका छन्। कृषि ज्ञान केन्द्रले ५०० बोट ओखर र १०० बोट किबीका बिरुवा पनि उपलब्ध गराएको छ।

कमेन्ट लोड गर्नुस