सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन पूर्वप्रधानमन्त्रीसहित उच्चस्तरीय नेताहरूको सम्पत्तिमा सूक्ष्म अनुसन्धान सुरु

२०८२ चैत्र १५, ०१:५८ खबर संवाददाता

काठमाडौँः नेपालका तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीसहित उनीहरूका परिवारको सम्पत्तिमाथि राज्यका निकायहरूले सूक्ष्म अनुसन्धान सुरु गरेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन अघि बढाएको हो।

प्रहरी स्रोतका अनुसार अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। त्यस्तै पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूका परिवारका सदस्यहरूको चल–अचल सम्पत्ति र आम्दानीका स्रोतबारे समेत अनुसन्धान भइरहेको छ। आरजु राणाका भाइ भुषण राणालाई पनि अनुसन्धान सूचीमा समावेश गरिएको छ।

यो अनुसन्धान गत भदौ २४ गते भएको आगजनी घटनासँग समेत जोडिएको बताइएको छ। उक्त घटनाका क्रममा देउवा, दाहाल र खड्काको निवासबाट जलेका नोटका टुक्राहरू फेला परेका थिए। घरमा ठूलो मात्रामा नगद रहेको संकेत देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक छानबिन थालेको थियो।

प्रारम्भिक अध्ययनमा केही शंका देखिएपछि विभागले थप विस्तृत अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको हो। सोही आधारमा सीआईबीले सम्बन्धित व्यक्तिहरूको सम्पत्ति र आयस्रोतबारे गहिरो अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस