सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानन्यायाधीश राउत अनिवार्य अवकाशमा, मल्ल कायममुकायम जिम्मेवारीमा

२०८२ चैत्र १७, ०९:०९ खबर संवाददाता

काठमाडौँः सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन्। ६५ वर्षे उमेरहद पूरा भएसँगै उनले अनिवार्य अवकाश पाएका हुन्।

वि.सं. २०८१ असोज २० मा प्रधानन्यायाधीशमा नियुक्त भएका राउतलाई आज सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले औपचारिक बिदाइ गरेकी छन्।

राउतको अवकाशपछि बुधबारदेखि वरिष्ठतम् न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्।

यसैबीच, नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले वरिष्ठतम् न्यायाधीश मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।

संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशको अवकाश हुनुभन्दा एक महिना अगाडि नै संवैधानिक परिषद्ले नयाँ नाम सिफारिस गर्नुपर्ने हुन्छ। उक्त सिफारिस संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने प्रावधान रहेको छ।

कमेन्ट लोड गर्नुस