सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने: 'प्रतिशोधको राजनीति अन्त्य, अहंकाररहित शासनको प्रतिबद्धता'

२०८२ चैत्र १९, ०३:१५ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले प्रतिपक्षप्रति अहंकार नराख्ने र न्यायपूर्ण व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले विगतजस्तो आस्थाका आधारमा विभेद नहुने उल्लेख गर्दै संसदीय अभ्यासलाई मर्यादित बनाउने बताएका छन्। 'अब कसैको आवाज दबाउन माइक काटिने छैन, न त संख्याको बलमा समितिहरूमा प्रतिशोध लिइनेछ,' उनले भने, 'तर सुशासनको गति भने रोकिने छैन।'

लामिछानेले सत्ता गुमेपछि विदेशी चलखेलको आरोप लगाउने प्रवृत्तिको पनि अन्त्य हुने बताए। साथै, राजनीतिक सिफारिसमा नियुक्त भएका व्यक्तिहरूलाई स्वेच्छिक रूपमा राजीनामा दिई विधिको पालना गर्न आग्रह गरे।

उनले रास्वपाले अब केवल प्रश्न उठाउने नभई समाधान प्रस्तुत गर्ने चरणमा प्रवेश गरेको उल्लेख गरे। 'हामीलाई प्रश्न मात्र होइन, उत्तर दिन पनि आउँछ। समस्या देखाउने मात्र होइन, समाधान खोज्न पनि आउँछ,' उनले जोड दिए।

प्रतिपक्ष दलहरूलाई निरन्तर निगरानी गर्न आग्रह गर्दै उनले आफ्ना कमजोरीहरू औंल्याउन र आवश्यक परे सच्याउन आग्रह गरे। “यदि हामी बाटो बिरायौं भने सच्याइदिनुहोला, जनताबाट टाढा भयौं भने जनताको आवाज सम्झाइदिनुहोला,” उनले भने।

उनले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र नभई एकअर्काका पूरक भएको उल्लेख गर्दै अहंकाररहित र उत्तरदायी शासनको प्रतिबद्धता दोहोर्‍याए।

कमेन्ट लोड गर्नुस