सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिपी अर्याल सभामुखमा निर्विरोध, औपचारिक घोषणा आइतबार

२०८२ चैत्र २०, ०३:१३ खबर संवाददाता

काठमाडौँः प्रतिनिधिसभाको सभामुख पदका लागि सांसद डीपी अर्याल निर्विरोध चयन भएका छन्। यद्यपि, उनको औपचारिक घोषणा भने अब बस्ने प्रतिनिधिसभा बैठकबाट गरिनेछ।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। सो अवधिमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।

प्रतिनिधिसभा नियमावलीअनुसार यदि सभामुख पदमा एक मात्र उम्मेदवार हुन्छ भने समर्थक सदस्यले प्रस्ताव प्रस्तुत गरेपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ। अब यो प्रक्रिया आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पूरा हुनेछ।

प्रतिनिधिसभामा सत्तारूढ दल रास्वपाको स्पष्ट बहुमत रहेको कारण अन्य दलहरूले उम्मेदवारी दिएका थिएनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् भने नेपाली काँग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन्।

सभामुख चयनसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ।

संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान छ। तर एकल उम्मेदवारी परेको अवस्थामा भने एउटै दलबाट पनि चयन हुन सक्ने संसद् सचिवालयले जनाएको छ।

उपसभामुख चयनबारे दलहरूबीच अहिलेसम्म औपचारिक छलफल भने सुरु भएको छैन।

निर्वाचनपछि सभामुखले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् भने उपसभामुखले सभामुखको उपस्थितिमा शपथ ग्रहण गर्ने व्यवस्था छ।

सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुख कुन दलबाट चयन हुन्छ भन्ने विषय राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।

कमेन्ट लोड गर्नुस