सुदूर नेपाललाई विश्वसँग जोड्दै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

२०८३ वैशाख १, १२:०९ रासस

टीकापुर: फरक क्षमता (अपाङ्गता) भएका बालबालिकाको स्याहार अभिभावकका लागि कठिन हुने गरेको छ । अपाङ्गता भएका बालबालिकालाई स्याहार गर्दा विशेष ध्यान र समय दिनुपर्दा अभिभावकको व्यक्तिगत जीवनमा पनि प्रभाव पर्ने गरेको उनीहरूले बताएका छन् ।

टीकापुर नगरपालिका–१ वनगाउँकी जगतमाया शाहीकी छोरी जन्मजातै अपाङ्ग छिन् । १९ वर्षीया छोरी जन्मेदेखि नै हलचल गर्न नसक्ने भएपछि जगतमायाको परिवारले नेपाल र भारतका धेरै अस्पतालमा उपचार गराएका थिए । छोरीको देब्रे हात अलिअलि चल्ने भए पनि शरीरका अन्य भाग चल्दैनन् । त्यसैले जगतमाया छोरीकै स्याहारमा लागिरहेकी छन् । “म पढेलेखेकी छु, जागिर खान सक्थेँ, तर छोरी स्याहार्नुपर्ने बाध्यताले केही गर्न सकेकी छैन,” उनी भन्छिन्, “छोरी शारीरिक मात्र होइन मानसिक रूपमा पनि अशक्त भएकाले स्याहारमा समस्या छ । उनको अवस्था र भविष्यको चिन्ताले मलाई निकै पीडा दिन्छ ।”

उनी आफू हुन्जेल छोरी सुरक्षित भए पनि आफू नभएपछि कसले स्याहार्ला भन्ने चिन्तामा छिन् । “दुई कक्षासम्म पढेकी छिन्, सानो हुँदा बोकेर विद्यालय पुर्‍याउँथेँ, तर पछि बोक्न गाह्रो भएपछि पढाउन सकिएन,” उनी भन्छिन्, “विद्यालयहरू पनि समावेशी छैनन् । विशेष शिक्षक, सामग्री र पहुँचयुक्त पूर्वाधार नहुँदा छोरीजस्ता बालबालिकाले शिक्षा पाउन सकेका छैनन् ।”

अपाङ्गता भएका बालकको तुलनामा बालिकाको स्याहार झन् कठिन हुने उनी बताउँछिन् । महिनावारीका कारण सरसफाइमा थप समस्या हुने गरेको उनको भनाइ छ ।

टीकापुरकै अर्का बालक मनोज विकको अवस्था पनि यस्तै छ । उनको तल्लो शरीर चल्दैन । उनले कक्षा १२ सम्म अध्ययन गरेका छन् । सानो हुँदा आमाले बोकेर विद्यालय लगे पनि उमेर र तौल बढेसँगै त्यो सम्भव भएन । “कक्षा १० सम्म आमाबुबाले पालैपालो विद्यालय लैजानुहुन्थ्यो,” उनी भन्छन्, “पछि तौल बढ्दै जाँदा उहाँहरूलाई पनि गाह्रो भयो । त्यसपछि कक्षा ११ र १२ घरमै पढेर परीक्षा दिएँ । अहिले थप पढ्ने इच्छा छ, तर क्याम्पस आउजाउ गर्न कठिन छ ।”

अपाङ्गता भएका बालबालिकाको स्याहार अभिभावकका लागि चुनौतीपूर्ण छ । विभिन्न संघसंस्थाको सहयोगमा स्थानीय तहले वितरण गर्ने सहायता सामग्रीले केही राहत दिएको भए पनि ती सामग्री लामो समय टिक्दैनन् र बिग्रिएपछि मर्मत गर्न समस्या हुन्छ ।

जोशीपुर–६ लोखरीका २१ वर्षीय टीकाराम डगौरा कक्षा ११ मा अध्ययनरत छन् । उनी भाइसँग टीकापुरमा डेरा गरी बस्दै आएका छन् । जन्मजात तल्लो शरीर नचल्ने समस्या भए पनि उनी धेरै काम आफैं गर्छन् । तर उनको ह्विलचेयर बिग्रिँदा विद्यालय जान समस्या हुने गर्छ । “संस्थाको सहयोगमा पाएको ह्विलचेयर बेला–बेला बिग्रन्छ,” उनी भन्छन्, “बिग्रिएपछि विद्यालय जानै कठिन हुन्छ । बाटो पनि धेरै अप्ठ्यारो छ, साथीहरूको सहयोग बिना पुग्न सकिँदैन ।”

टीकापुर नगरपालिकामा १,१९९ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् । अपाङ्गतालाई चार वर्गमा विभाजन गरी परिचयपत्र दिइन्छ, जसमा क र ख वर्गका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँछन् । यहाँ क वर्गका १२८, ख वर्गका ५८५, ग वर्गका २९२ र घ वर्गका १९४ जना छन् । पालिकाले २०७६ सालदेखि परिचयपत्र वितरण सुरु गरेको हो ।

पालिकाले आवश्यक नागरिकलाई संघसंस्थासँग समन्वय गरेर सहायता सामग्री उपलब्ध गराउँदै आएको छ । यस वर्ष २५ वर्षमुनिका २९ जना विद्यालय जाने बालबालिकालाई सामग्री वितरण गरिएको महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाहले जानकारी दिइन् । उनी भन्छिन्, “थप आवश्यक व्यक्तिलाई पनि सामग्री दिने तयारी छ । तर बाटोको अवस्थाका कारण सामग्री चाँडै बिग्रने र मर्मतमा समस्या हुने गरेको छ ।”

उनका अनुसार अपाङ्गता भएका बालबालिकामध्ये बालिकाको स्याहार झन् चुनौतीपूर्ण छ । परिवारका लागि स्याहार कठिन हुनुका साथै सुरक्षाको जोखिम पनि रहन्छ । अधिकारकर्मी निर्मला कडायतले समाजमा अपाङ्गताबारे सही बुझाइ नहुँदा अभिभावक र बालबालिकाले अपमान र हेलाको सामना गर्नुपरेको बताइन् । उनी भन्छिन्, “सरकारले बालबालिकाको अवस्थाअनुसार सुविधा र उपचारका विकल्प दिनुपर्छ । अभिभावक नभएका बालबालिकाको स्याहार सरकारले गर्नुपर्छ । विद्यालयलाई अपाङ्गमैत्री बनाउनु आवश्यक छ । घरमै उपचार सेवा, थेरापी र परामर्शको व्यवस्था पनि गर्नुपर्छ ।”
 

कमेन्ट लोड गर्नुस