भारतमा दुवै हातखुट्टा भाँचिएका रुपेशको माया मेट्रोले गर्यो निःशुल्क शल्यक्रिया
धनगढीः बैतडीको दशरथचन्द नगरपालिकाको निग्लासैनका १६ वर्षीय रुपेश भुलको माया मेट्रो अस्पतालले निःशुल्क शल्यक्रिया गरेको छ।
भारतको जम्मुकश्मीरमा साइकलबाट लडेर बेहोस अवस्थामा भेटिएका रुपेशको दुवै हात र दुवै खुट्टा भाँचिएको अवस्थामा भेटिएपछि तत्काल नजिकैको सरकारी हस्पिटलमा लगिएको थियो। तर त्यहाँ एक हप्ता सम्म उपचारमा ढिलाईभएपछि उनको हातखुट्टामा सङ्क्रमण बढ्दै गएको थियो।
त्यसपछि उनका आफन्तले नेपालमै उपचार गराउने मनसाय बनाएर गत चैत ८ गते धनगढीको माया मेट्रो हस्पिटल ल्याएका थिए। उनको आर्थिक अवस्था कमजोर भएकाले अस्पतालका विशेषज्ञ डाक्टर र अस्पताल प्रशासनबिचको छलफल पछि निःशुल्क शल्यक्रिया गर्ने निर्णय भएको र अहिले उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेको अस्पतालका पिआर म्यानेजर जगत महताले जानकारी दिए। रुपेश करिब तीन हप्ताको उपचार गराएर घर फर्किन पाएकोमा निकै हर्षित भएको भन्दै उपचारमा संलग्न डाक्टरहरूको टिम र अस्पताल प्रशासनलाई धन्यावाद व्यक्त गरे।
उनले भारतमा उपचार सम्भव नभएकाले आफूहरू नेपाल आएको उनका बुबाले आफ्नै प्रदेशमा छोराको उपचार सफल भएपछि परिवारमा निकै खुसी छाएको बताए। अस्पतालले गरेको उपचारप्रति आफू निकै सन्तुष्ट रहेको बताए। रूपेशको उपचारमा हार्डजोर्नी बिशेषज्ञ डा. विकास पाण्डे, डा.रितेश पोखरेल लगायतको टोली रहेको थियो।