दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
काठमाण्डौ: शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ । मन्त्रिपरिषद्को गएको चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो ।
नयाँ व्यवस्थापनअनुसार विद्यालय सञ्चालन हुने पाँच दिन तथा पठनपाठन हुने अवधिसमेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, पालिका, शिक्षक, विद्यालय र सरोकार भएका पक्षलाई सास्ती भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को वैशाख ११ गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ ।
स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभयो । विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा २ सय ५ दिन पठनपाठन सञ्चालन हुने, कक्षा १ देखि ३ सम्म जम्मा २६ पाठ्यघण्टा अर्थात् वार्षिक ८ सय ३२ कार्यघण्टाको पठनपाठन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन गरिएको महानिर्देशक पौडेलले बताए।
उनका अनुसार कक्षा ४ देखि ७ सम्म जम्मा ३२ पाठ्यघण्टा अर्थात् वार्षिक एक हजार २४ कार्यघण्टा र कक्षा ९, १०, ११ र १२ मा कम्तीमा ३७ पाठ्यघण्टा अर्थात् एक हजार १ सय ८४ कार्यघण्टादेखि बढीमा ४२ पाठ्यघण्टा अर्थात् एक हजार ३ सय ४४ कार्यघण्टा पठनपाठन गर्नुपर्ने हुन्छ । पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टाको समयावधिलाई एक पाठ्यघण्टा मानिने केन्द्रका महानिर्देशक पौडेलले जानकारी दिए।
तोकिएको पाठ्यघण्टा नघट्नेगरी विद्यालयको समयावधि निर्धारण गरी कक्षा सञ्चालन गर्दा सामान्यतः पाठ्यघण्टा गणना एक घण्टाको एकाइमा गरिने केन्द्रले जनाएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार २ सय ५ दिन विद्यालय सञ्चालन गर्दा न्यून हुन आउने पठनपाठन दिन सङ्ख्या २१ र शिक्षा नियमावलीको नियम ८५ अनुसार २ सय २० दिन विद्यालय खुल्ने व्यवस्थाअनुसार न्यून हुने दिन सङ्ख्या ३६ हुन आउँछ ।
अपुग भएर बाँकी हुन आउने २ सय १८ दिनको समयमध्ये दैनिक १५ मिनेट प्रार्थना र २० मिनेट खाजा समय छुट्याउँदा ६ घण्टाको विद्यालय समयबाट पठनपाठनका लागि दैनिक रूपमा प्राप्त हुने समयावधि पाँच घण्टा २५ मिनेटका आधारमा वार्षिक पठनपाठनका लागि उपलब्ध समय ७ सय ५८ घण्टा हुनेछ ।
यसरी अपुग हुने पाठ्यघण्टालाई विद्यालय समयभन्दा अतिरिक्त समयमा गरिने परियोजना तथा प्रयोगात्मक कार्यलगायत सिकाइसम्बद्ध क्रियाकलापलाई विषयगत तथा बहुविषयगत सिकाइ उपलब्धिसँग आबद्ध गर्ने र यसरी सिकाइका लागि उपयोग हुने समयलाई वार्षिक कार्यघण्टामा समावेश गर्न केन्द्रले निर्देश गरेको केन्द्रका महानिर्देशक पौडेलले बताए।