सुदूर नेपाललाई विश्वसँग जोड्दै

केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल

२०८३ जेठ ४, ०२:३२ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखमा पार्टीकी केन्द्रीय सदस्य निरुदेवी पाल तोकिएकी छन् । उक्त जिम्मेवारीलाई आज बस्ने पार्टी सचिवालय बैठकले अनुमोदन गर्दैछ ।

एमाले केन्द्रीय कार्यालयस्रोतका अनुसार आजको सचिवालय बैठकले ८ प्रदेश, ७७ भौगोलिक जिल्ला, ४ गैरभौगोलिक जिल्ला, प्रवासका विभिन्न कमिटीका इञ्चार्ज पनि तोक्दैछ । देशका ७५३ स्थानीय तहमा पनि पार्टी केन्द्रीय सदस्य स्तरका नेतालाई इञ्चार्ज तोकिने भएको छ । केन्द्रीय सदस्य नपुग भएको अवस्थामा प्रदेश कमिटीस्तरका नेता तोकिँदैछन् । त्यसअन्तर्गत पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखमा पाल तोकिने भएकी हुन् ।

आजको बैठकले अनुमोदन गर्ने भए पनि उनले अध्यक्षको सचिवालयमा केही समयदेखि काम गर्न थालिसकेको बताइन् । नेपाल प्रेसले सम्पर्क गर्दा स्वास्थ्यको प्रतिकूलताका कारण अहिले अध्यक्षको सचिवालय भक्तपुर, गुण्डुस्थित निवासमै राखिएको बताइन् ।

स्वास्थ्य अनुकूल भएर हिँड्डुल गर्न मिलेपछि उक्त सचिवालय पार्टी कार्यालयमै रहने उनको भनाइ छ । ओलीको सचिवालयमा स्वकीय सचिव रहेका राजेश बज्राचार्य र दीपेन्द्र दाहाल कायमै छन् । उनीहरुले घरतिरको सचिवालयमात्रै व्यवस्थापन गर्ने छन् । कार्यालय व्यवस्थापन, उच्चस्तरीय भेटघाट, राजनीतिक संवादसहितका विषयको संयोजन पालले गर्ने एमाले कार्यालयस्रोतले जनाएको छ ।

पाल दोस्रो कार्यकालस्वरुप पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कञ्चनपुरबाट उम्मेदवार थिइन् ।

कमेन्ट लोड गर्नुस