काँग्रेस देउवा समूहद्वारा काठमाडौँमा सम्पर्क कार्यालय स्थापना
काठमाडौँः नेपाली काँग्रेसको इतर समूहले काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको छ। काठमाडौँको अनामनगरमा निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो।
नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले र केदार कार्कीलगायतको सक्रियतामा कार्यालय खुलेको बताइएको छ। बराल, बस्नेत र काफ्ले निवर्तमान केन्द्रीय सदस्य हुन्। शेरचन बागलुङका सभापति तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री हुन् भने कार्की कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री हुन्।
सम्पर्क कार्यालयमा चारतारे झण्डासँगै बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काका तस्बिरहरू लहरै झुण्ड्याइएको छ।