काँग्रेस विभाजनको हल्ला निराधार, एकताबाटै पुनर्जागरण सम्भव:बलायर
धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले काँग्रेस तत्काल फुट्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। पार्टीलाई एकताबद्ध गर्दै पुनर्जागरणतर्फ लैजानुपर्नेमा जोड दिँदै उनले सबै धार र विचारलाई समेट्न सक्ने नेतृत्व आवश्यक रहेको बताए।
प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति बलायरले विशेष महाधिवेशनबाट स्थापित नेतृत्वले समावेशी भूमिका निर्वाह गर्न सके पार्टीमा देखिएका असन्तुष्टि स्वतः कम हुने दाबी गरे। “पार्टीको ठूलो शक्ति अझै सानेपाभन्दा बाहिर छ,' उनले भने, 'सानेपा र बाहिरको शक्ति एउटै धारमा आउनुपर्छ, त्यसका लागि समाधानको बाटो नेतृत्वले देखाउनुपर्छ।'
उनले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा नेताहरूप्रति अपमानजनक व्यवहार हुन नहुने धारणा राख्दै विगतको नेतृत्वको मानमर्दन काँग्रेसकै लागि घातक हुने बताए। 'हिजो नेतृत्व गरेका व्यक्तिहरूलाई अपमान होइन, सम्मान चाहिन्छ,' उनले भने, '१५औँ महाधिवेशन सुनिश्चित गर्न पनि एकता अपरिहार्य छ।'
कानुनी रूपमा गगन थापा पार्टी सभापति भए पनि भावनात्मक रूपमा सबैलाई समेट्न नसकिएको उनको संकेत थियो। अदालत र निर्वाचन प्रक्रियाबाट आएको निर्णयलाई स्वीकार गरिए पनि पार्टी व्यवहारिक रूपमा अझै एक ठाउँमा नआएको उनले बताए।
सभापति बलायरले देउवा समूहले काठमाडौँमा सञ्चालन गरेको सम्पर्क कार्यालयलाई विभाजनको संकेतका रूपमा लिन नहुने स्पष्ट पार्दै त्यसलाई आन्तरिक समन्वयको प्रयासका रूपमा बुझ्न आग्रह गरे। काँग्रेसलाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै उनले भने, 'काँग्रेस कमजोर भयो भने देशको राष्ट्रियता नै कमजोर हुन्छ।'
आगामी १० गते सुदूरपश्चिम प्रदेशमा आयोजना हुने कार्यक्रमले पार्टीको भावी रणनीतिबारे स्पष्ट दिशा दिने उनको भनाइ थियो। उनले यो कार्यक्रम कुनै गुटको भेला नभई प्रदेशस्तरीय छलफल र मार्गनिर्देशनको प्रयास भएको जिकिर गरे।
एकताको पक्षमा आफूहरू दृढ रहे पनि वर्तमान नेतृत्वबाट स्पष्ट सन्देश नआएको भन्दै उनले निवर्तमान सभापति शेरबहादुर देउवा को पनि काँग्रेस विभाजन गर्ने मनसाय नरहेको बताए।
राजनीतिक सत्ता समीकरणबारे बोल्दै सभापति बलायरले काँग्रेस तत्काल नेकपासँग सहकार्यमा जाने सम्भावना न्यून रहेको उल्लेख गरे। सत्ता समीकरण परिवर्तन भएमा देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको समझदारीपछि मात्रै प्रदेश सरकारहरूमा हेरफेर हुने उनको धारणा थियो।
अन्त्यमा उनले काँग्रेसले विगतमा भोगेको पराजयबाट पाठ सिक्दै सबैलाई समेटेर स्थानीय तथा प्रदेश तहमा बलियो शक्ति बन्नु आजको आवश्यकता भएको बताए।