शिवपुरी धाममा लागूऔषधविरुद्ध जनचेतना कार्यक्रम: विद्यार्थीले उठाए सुधार र सामाजिक अभ्यासबारे प्रश्न
धनगढी: समर्पण सुधार केन्द्र, धनगढी उपमहानगरपालिका–४ नम्बर वडा कार्यालय उत्तरबेहडी र जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन समर्पण सुधार केन्द्रका सञ्चालक तथा उद्घोषक रमेश बिनाडीले गरेका थिए। कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले लागूऔषध दुर्व्यसन नियन्त्रण र पुनःस्थापनाको आवश्यकता बारे आ–आफ्ना धारणा राखेका थिए।
सुधार केन्द्रका अर्का सञ्चालक सन्तोष कुँवरले आफू पहिले लागूऔषधको लतमा फसेको अनुभव सुनाउँदै अहिले सुधारको बाटोमा आएको बताए। उनले आफ्नो अनुभव साझा गर्दै सुधार केन्द्र स्थापना गर्नुको उद्देश्य अरूलाई पनि सुधारको मार्गमा ल्याउनु रहेको उल्लेख गरे। कार्यक्रममा सम्बोधन गर्दै उनले विद्यार्थीहरूलाई यस्तो सचेतनामूलक कार्यक्रममा सहभागी हुने अवसर पाउनु भाग्यमानी भएको भन्दै लागूऔषधबाट टाढा रहन आग्रह गरे।
त्यस्तै, साइकल यात्री भारत विक्रम शाहले युवाहरूले क्षणिक मनोरञ्जनका लागि जीवन जोखिममा पार्नु गलत भएको बताउँदै भविष्यप्रति सचेत रहन सुझाव दिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक जेनिथ कुँवरले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण गरी अनुशासित जीवनशैली अपनाउन आग्रह गरे। उनले अभिभावक, शिक्षक वा प्रहरीसँग कुनै पनि समस्या खुलेर साझा गर्न सकिने बताउँदै प्रहरीलाई पनि अभिभावकसरह विश्वास गर्न सकिने धारणा व्यक्त गरे।
वडा अध्यक्ष बुद्धि खड्काले वडा नं. ४ अन्तर्गत शिवपुरी धाम क्षेत्रको सामुदायिक वनमा लागूऔषधसम्बन्धी गतिविधिमा कमी आएको र क्षेत्र पहिलेभन्दा बढी सुरक्षित महसुस हुने अवस्था बनेको बताए। उनले समुदाय, प्रहरी र सरोकारवालाबीचको सहकार्य प्रभावकारी बन्दै गएको उल्लेख गरे।
कार्यक्रममा समर्पण सुधार केन्द्रका सञ्चालक सौरभ पाण्डेले पनि आफ्नो विगतको अनुभव सुनाउँदै त्यसबाट शिक्षा लिन सबैलाई आग्रह गरे।
कार्यक्रममा विद्यार्थीहरूलाई प्रश्न सोध्ने अवसरसमेत दिइएको थियो। सो क्रममा ज्योति इङ्ग्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत आशिष थापाले लागूऔषधमा फसेका व्यक्तिहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए। साथै उनले महाशिवरात्रिको अवसरमा शिवपुरी धाम क्षेत्रमा भाङको पकौडा र लड्डु वितरण हुने अभ्यासबारे प्रश्न उठाउँदै त्यसले समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्नेबारे पनि जिज्ञासा व्यक्त गरेका थिए।
प्रश्नको जवाफमा निरीक्षक विष्टले विद्यार्थीहरूलाई अध्ययन र अभ्यासमा व्यस्त रहन सके नकारात्मक सोच तथा बानीबाट टाढा रहन सहज हुने बताएका थिए। उनले सकारात्मक गतिविधिमा संलग्न रहँदा गलत बाटोबाट बच्न मद्दत पुग्ने पनि बताए।
त्यसैगरी, वडा अध्यक्ष खड्काले आशिष थापाले उठाएको महाशिवरात्रिकाे विषयकाे प्रश्नको जवाफ दिँदै विद्यार्थीहरूले यस्ता विषयमा आवाज उठाउनु आवश्यक रहेको उल्लेख गरे। उनले विद्यार्थीको जिज्ञासा र साहसको प्रशंसा गर्दै यस्ता सचेतनात्मक प्रश्नहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताए।
खड्काले थप गर्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी यस्ता गतिविधि तथा अभ्यासलाई नियन्त्रण गर्ने विषयलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमले लागूऔषध नियन्त्रण तथा सचेतनामा समुदाय, प्रहरी र सामाजिक संस्थाबीचको सहकार्य अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
धनगढी–४ स्थित शिवपुरी धामभित्र रहेको अस्थायी प्रहरी चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा वडा अध्यक्ष बुद्धि खड्का, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक जेनिथ कुँवर, सुधार केन्द्रका सञ्चालकहरू, साइकल यात्री भरत विक्रम शाह, विभिन्न विद्यालयका कक्षा ९ र १० का विद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।