सुदूर नेपाललाई विश्वसँग जोड्दै

छाडा पशु चौपायाः बहुआयामिक असर र समाधानका प्रयास

file photo
file photo
२०८३ जेठ १२, ०३:१४ रासस

घोडाघोडी (कैलाली): आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेतबारी जोत्न प्रयोग गरिने गोरु यतिखेर किसानका लागि अभिशाप बन्दै गएको छ। 

खनजोत गर्न थरीथरीका कृषि औजार भित्रिएसँगै  गोरु र दूध दिन छोडेका थारा गाई किसानका लागि आर्थिक भार बन्न थालेको हो। एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे। बिहान सबेरै किसान हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी बन्थे।
 
खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्वपूर्ण भूमिका थियो। गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो। 

पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले। यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा छाडाचौपाया समस्या गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ।

धेरैजसो सडक दुर्घटना छाडाचौपायकै कारण हुने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, कैलालीको अध्ययनअनुसार कैलाली र कञ्चनपुरका सडकमा करिब तीन हजार छाडा चौपाया रहेको सीतारामले बताए। छाडाचौपायाको सबैभन्दा ठूलो असर किसानको खेतबारीमा देखिएको छ। मिहिनेत गरेर लगाइएको बाली रातारात गाईगोरुले खाइदिँदा किसानहरू चिन्तित बन्न थालेका छन्। 
    
जेठ महिना धानको बीउ छर्ने समय हो। तर छाडाचौपायका कारण धानका बीउ जोगाउनै मुस्किल पर्ने गरेको  किसान डम्बर विष्टले बताए। छाडाचौपायबाट बाली जोगन किसानले खेत वरिपरि काँडेतार लगाउने र राति पालैपालो खेतबारीमा कुरुवा बस्ने गरेका छन्।  

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले घोडाघोडी, लम्कीचुहा, भजनी, जोशीपुर र गोदावरी क्षेत्रमा निर्माण गरिएका गौशाला तथा कान्जी हाउसमा आहारा, पानी र उचित हेरचाहको अभाव देखिएकाले कतिपय स्थानमा गाईगोरु भोकभोकै मर्ने अवस्था आएको बताए।
    
कैलालीको टीकापुरमा सञ्चालन भइरहेको व्यवस्थित गौशालाले धेरैको ध्यान तानेको छ। टीकापुरस्थित गौशालामा छाडा गाईगोरुको संरक्षणसँगै उनीहरूबाट आर्थिक आम्दानी गर्ने अभ्यास सुरु गरिएको छ।
 
गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहका अनुसार पहिले किसानलाई मल लैजान आग्रह गर्नुपर्ने अवस्था थियो। अहिले  धमाधम  प्रतिट्रली रु ६ हजार ५०० मा गोबर मल बिक्री हुने गरेको छ।  

गौशालामा हाल १० जना कर्मचारी कार्यरत छन्।  टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन्। जसले कर्मचारीको तलब तथा अन्य व्यवस्थापनमा सहयोग पुगेको छ।
  
गौशालामा गोबर ग्यास प्लान्ट निर्माण गरिएको छ। प्लान्टबाट स्थानीय ४० घरधुरीलाई प्रतियुनिट रु ४५ का दरले ग्यास वितरण गरिएको छ। 

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले खुला र अव्यवस्थित चरिचरनका कारण वनको प्राकृतिक संरचना गम्भीर रूपमा प्रभावित बन्न पुगेको बताए।  

वन क्षेत्रमा अनियन्त्रित चरिचरनले केवल वनस्पति मात्र होइन, माटोको संरचना र गुणस्तरमा समेत असर पारिरहेको संरक्षणकर्मी विजयराज श्रेष्ठको भनाइ छ। 

कमेन्ट लोड गर्नुस