सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहडाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु, हजारौँ नेपाली–भारतीय श्रद्धालुको भिड

२०८३ जेठ १२, ०४:२८ खबर संवाददाता

धनगढीः नेपाली र भारतीय श्रद्धालुको आस्थाको केन्द्र मानिने बेहडाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु भएको छ। हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन लाग्ने यो धार्मिक मेला मङ्गलबार राति १२ बजेदेखि विधिवत् रूपमा सुरु भएको हो। मन्दिरमा रहेको शिवलिङ्गमा मध्यरातमा पूजाआजासहित जल चढाएर मेलाको सुरुवात गर्ने परम्परा रहँदै आएको छ।

धनगढी उपमहानगरपालिका–१६ को जङ्गल क्षेत्रमा अवस्थित बेहडाबाबा मन्दिरको दर्शनका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट हजारौँ श्रद्धालु आउने गरेका छन्। भारतीय भक्तजनमा बेहडाबाबाप्रति विशेष श्रद्धा रहेको छ। दर्शन गरेमा शुद्ध मनले मागेका कामना पूरा हुने, सुख–शान्ति, समृद्धि तथा सन्तान प्राप्ति हुने विश्वास उनीहरूमा रहेको बताइन्छ।

भारतको उत्तर प्रदेश खिरीस्थित भिराका सोहनलाल साहुले बेहडाबाबाको दर्शन र पूजाआजा गरेमा मनोकामना पूरा हुने विश्वास व्यक्त गरे। सन्तान नहुनेले बेहडाबाबाको दर्शन गरेमा सन्तान प्राप्त हुने जनविश्वास रहेको उनले बताए। विगत केही वर्षदेखि प्रत्येक वर्ष गङ्गादशहराका अवसरमा दर्शन गर्न आफू यहाँ आउने गरेको उनको भनाइ छ।

जेठको चर्को गर्मीका बाबजुद भारतीय श्रद्धालुहरू गौरीफन्टा नाकादेखि बेहडाबाबा मन्दिरसम्म प्रायः पैदल यात्रा गर्ने गरेका छन्। झोलाझम्टा र बालबच्चासहित उनीहरू करिब १२ किलोमिटरको दूरी हिँडेर पार गर्ने दृश्य सामान्य देखिन्छ।

मन्दिर व्यवस्थापन समितिले भारतीय श्रद्धालुका लागि मन्दिर परिसरमा धर्मशाला सञ्चालन गर्दै आएको जानकारी दिएको छ। समितिका अध्यक्ष खेमबहादुर चन्दका अनुसार गङ्गादशहरा मेला जेठ १२ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। उनले भारतबाट आउने तीर्थालुलाई सहज आवतजावतको व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गरे। नाकामा कडाइ बढेकाले दर्शनार्थीलाई सहज रूपमा आउन दिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए।

बेहडाबाबा मन्दिरमा भारतको लखिमपुर, पलिया, चन्दनचौकी, तिकुनियाँ, बेलराया, भिरा र साहजाँपुरलगायत क्षेत्रबाट श्रद्धालु आउने गरेका छन्। त्यसैगरी नेपालका विभिन्न जिल्लाबाट पनि भक्तजन दर्शनका लागि यहाँ पुग्ने गरेका छन्।

कमेन्ट लोड गर्नुस