कैलाली कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–४ बसपार्क तथा दोधाराचाँदनी नगरपालिका–३ न्याउलीघाट क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी २ लाख ३५ हजार १ सय रुपैयाँ बराबरका तरकारी, कुरकुरे, पेय पदार्थ, पापड, माछा तथा एक थान मोटरसाइकल लगायतका सामान बरामद गरिएको हो।
आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट अन्दाजी ३१ हजार ३ सय ५० रुपैयाँ बराबरका चिनी, खाने तेल, ग्यास लाइटर, साडी, सुटपिस तथा किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।