वन पैदावरको सदुपयोगले फेरिँदै गाउँको मुहार, दुनाटपरी उद्योगबाट महिलाको आत्मनिर्भरता
घोडाघोडीः एक समय श्रीमान्को आम्दानीमा मात्र निर्भर रहेकी लम्कीचुहा नगरपालिका–१ भुरुवाकी धना बोहरा आज सफल उद्यमीका रूपमा परिचित छिन्। सालको पातबाट दुनाटपरी उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै उहाँले आफ्नै परिवारको आर्थिक अवस्था सुधार्नुका साथै स्थानीय महिलालाई समेत रोजगारी दिएकी छन्।
चार वर्षअघि स्थानीय सरकारले सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा सहभागी भएपछि बोहराको जीवनले नयाँ मोड लियो। तालिमपछि प्राप्त मेसिनको सहायताले उनले ‘सृजनशील दुनाटपरी उद्योग’ स्थापना गरेकी छन्। अहिले उद्योगमा आठ जना स्थानीय महिलाले नियमित रोजगारी पाइरहेका छन् भने दैनिक एक हजारभन्दा बढी दुनाटपरी उत्पादन हुने गरेको छ।
दसैँ, तिहार, माघेसङ्क्रान्ति, श्राद्ध, पूजाआजा तथा थारू समुदायका विवाह समारोहमा दुनाटपरीको माग अत्यधिक हुने गरेको छ। कतिपय विवाहमा १० हजारभन्दा बढी दुनाटपरी आवश्यक पर्ने भएकाले मागअनुसार उत्पादन गर्न कठिन हुने गरेको बोहराले बताइन्।
बोहराको सफलता केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन। वन पैदावरको सदुपयोगले ग्रामीण समाजमा आर्थिक तथा सामाजिक परिवर्तन ल्याउन सक्ने सम्भावनाको यो एउटा उदाहरण बनेको छ। उनीजस्तै सयौँ उद्यमी वनमा आधारित व्यवसायमार्फत आत्मनिर्भर बन्दै गएका छन्।
महिलाको आयआर्जनको आधार बन्यो वनजन्य उद्योग
वन पैदावरमा आधारित उद्योगले विशेषगरी ग्रामीण महिलाको जीवनमा सकारात्मक प्रभाव पारेको छ। घरधन्दामा सीमित रहने महिलाहरू अहिले उत्पादन, व्यवस्थापन र उद्यमशीलताका क्षेत्रमा सक्रिय बन्दै गएका छन्।
बोहराको उद्योगमा कार्यरत रङ्गा उपाध्याय एकल महिला हुनुहुन्छ। श्रीमान्को निधनपछि सन्तानको जिम्मेवारी सम्हाल्न कठिन भइरहेका बेला उद्योगमा काम पाएपछि परिवार सञ्चालन गर्न सहज भएको उनको अनुभव छ।
यस्तै, कैलालीको टीकापुरस्थित तिलगङ्गा बेत–बाँस फर्निचर उद्योगमा कार्यरत हिराकुमारी चौधरीले बेतबाट विभिन्न सामग्री निर्माण गरेर दैनिक ८०० देखि एक हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन्। आफ्नै कमाइले घरखर्च चलाउन, ऋण तिर्न र बालबालिकाको आवश्यकताहरू पूरा गर्न सहज भएको उनले बताइन्।
उद्योगमा कार्यरत अर्की महिला मिना चौधरीले पनि घरायसी जिम्मेवारीसँगै आम्दानीको अवसर पाउँदा परिवारको आर्थिक अवस्था सुधारिएको बताइन्। तिलगङ्गा उद्योगमा मात्रै ५० भन्दा बढी कामदार कार्यरत छन्, जसमध्ये अधिकांश महिला छन्।
वनजन्य उद्योगमा महिलाको बढ्दो सहभागिताले आर्थिक मात्र होइन सामाजिक सशक्तीकरणसमेत बढाएको सरोकारवालाहरू बताउँछन्। आफ्नै कमाइ हुन थालेपछि महिलाको आत्मविश्वास बढेको छ भने परिवार र समाजमा उनीहरूको भूमिका पनि थप प्रभावकारी बनेको छ।
परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्दै उद्योग
सुदूरपश्चिममा वनजन्य उद्योग पछिल्ला वर्षमा ग्रामीण अर्थतन्त्रका महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएका छन्। बाँस, बेत, निगालो, काठ, खयर तथा खोटोजस्ता वन पैदावरमा आधारित उद्योगले स्थानीयस्तरमै रोजगारी सिर्जना गरिरहेका छन्।
पहिले घरायसी प्रयोगमा सीमित रहने बाँस र बेतका सामग्री अहिले सहरका होटल तथा रेस्टुरेन्टसम्म पुग्न थालेका छन्। डोको, नाङ्लो र टोकरीजस्ता परम्परागत सामग्रीसँगै कुर्सी, टेबल, सोफा र सजावटी सामग्री उत्पादन भइरहेको तिलगङ्गा बेत–बाँस फर्निचर उद्योगका सञ्चालक भरतलाल विकले बताए।
काठमा आधारित उद्योगले पनि स्थानीय कालीगढको सिपलाई व्यवसायमा रूपान्तरण गरेको छ। कैलाली र कञ्चनपुरमा सञ्चालनमा रहेका फर्निचर उद्योगहरूले साल, सिसौ, असना र हल्दुजस्ता काठ प्रयोग गरी विभिन्न सामग्री उत्पादन गरिरहेका छन्।
आकाश फर्निचर उद्योगका सञ्चालक सनमदत्त राजवंशीका अनुसार कच्चापदार्थको सहज उपलब्धता र स्थिर बजार सुनिश्चित गर्न सकिए उद्योगलाई अझ विस्तार गर्न सकिने सम्भावना छ।
जडीबुटी र खोटोमा पनि उत्तिकै सम्भावना
सुदूरपश्चिमका पहाडी जिल्लाहरू जडीबुटीका दृष्टिले निकै धनी मानिन्छन्। दार्चुला, बैतडी, बझाङ र बाजुराका वन क्षेत्रमा पाइने यार्सागुम्बा, चिराइतो, सतुवा, वनलसुन, टिमुर, तेजपात, अमला र रिट्ठाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ।
यस्तै, मध्यपहाडी क्षेत्रमा पाइने खोटेसल्लाबाट खोटो सङ्कलन र प्रशोधनको काम पनि भइरहेको छ। कैलालीको अत्तरियास्थित दिव्या रोजिन एण्ड टर्पेन्टाइन कम्पनीका सञ्चालक खड्क बमका अनुसार प्रदेशबाट वार्षिक एक हजार ५०० मेट्रिकटनभन्दा बढी खोटो सङ्कलन हुने गरेको छ।
कत्था उद्योगले पनि वनजन्य स्रोतको मूल्य अभिवृद्धि गर्दै रोजगारी र विदेशी मुद्रा आर्जनमा योगदान पुर्याइरहेको छ। खयर सङ्कलनदेखि प्रशोधन र निर्यातसम्मका गतिविधिमा धेरै स्थानीय नागरिकको जीविकोपार्जन जोडिएको व्यवसायीहरूको भनाइ छ।
सम्भावना ठूलो, चुनौती अझै उस्तै
वन पैदावरमा आधारित उद्योगहरूले ग्रामीण अर्थतन्त्रलाई टेवा दिइरहे पनि विभिन्न चुनौती भने कायमै छन्। कच्चापदार्थको दिगो व्यवस्थापन, आधुनिक प्रविधिको अभाव, प्रशोधन उद्योगको कमी, भण्डारण सुविधा तथा बजार विस्तारका समस्या प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
बझाङका जडीबुटी सङ्कलक राम्पस बोहराका अनुसार अहिले जडीबुटीको मूल्य पहिलेको तुलनामा घटेको छ। उचित मूल्य नपाउँदा वनजन्य स्रोतमा निर्भर परिवारहरूले अपेक्षित लाभ लिन सकेका छैनन्।
जडीबुटी व्यवसायी राजेन्द्र धामीका अनुसार पर्याप्त प्रशोधन उद्योग, भण्डारण सुविधा र बजार सूचनाको अभावका कारण अधिकांश जडीबुटी कच्चा अवस्थामै भारत र चीन निर्यात गर्नुपर्ने बाध्यता छ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले वन पैदावरमा आधारित उद्योगको दिगो विकासका लागि नीतिगत सुधार, पूर्वाधार निर्माण, सिप विकास तथा बजार विस्तारमा सरकारले काम गरिरहेको बताए।
स्थानीय स्रोत, सीप र श्रमको उपयोग गरेर सञ्चालन भइरहेका वनजन्य उद्योगहरूले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाँदा आत्मनिर्भर गाउँ निर्माणको आधारसमेत तयार गरिरहेका छन्।