सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा सुदूरपश्चिम सभापतिमा विष्ट र धामीबीच प्रतिस्पर्धा

२०८३ असार १, ०९:५२ खबर संवाददाता

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापति पदका लागि इन्जिनियर प्रकाश विष्ट र जनकसिंह धामीबीच प्रतिस्पर्धा हुने भएको छ।

धनगढीमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा निवर्तमान प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट र प्रतिनिधिसभा सदस्य जनकसिंह धामीले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

रास्वपा सुदूरपश्चिमका संस्थापक सभापति रहेका विष्टले विगत चार वर्षदेखि तदर्थ समितिको नेतृत्व गर्दै आएका छन्। उनले एक पूर्ण कार्यकालका लागि पुनः नेतृत्वमा पुग्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

यता, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धामीले पनि प्रदेश संगठनलाई थप सशक्त बनाउने लक्ष्यसहित सभापति पदमा उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीसँगै प्रदेश नेतृत्वका लागि प्रतिस्पर्धा रोचक बनेको छ।

यसअघि सभापतिको दौडमा दार्चुलाका जनक पन्तको नाम चर्चामा रहे पनि उनले उम्मेदवारी दर्ता गराएनन्। त्यसपछि विष्ट र धामीबीच सीधा प्रतिस्पर्धा हुने निश्चित भएको हो।

दुई उम्मेदवारबीच सहमति कायम गराउने प्रयास पार्टीभित्र जारी रहेको बताइएको छ। सहमति हुन नसके आज राति नै मतदान प्रक्रिया सुरु गर्ने तयारी रहेको रास्वपाले जनाएको छ।

कमेन्ट लोड गर्नुस