कृष्णपुरको बालुवा नाला सुक्यो
धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बालुवा नाला सुकेको छ। लामो समयसम्म पानी नपर्दा नाला सुकेको हो।
केही वर्ष अगाडिसम्म वर्षभरि पानी हुने नाला सुकेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। नगर प्रमुख हेमराज ओझाले लामो समयसम्म पानी नपर्दा तथा नाला अतिक्रमणले पानी सुकेको बताएका छन्। बालुवा नालालाई पुरानै अवस्थामा फर्काउन नगरपालिका लागिपरेको नगर प्रमुख ओझाले बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो बाल्यकाल सम्झिँदै नगर प्रमुख ओझाले सानैमा साथीभाइसँग बालुवा नालामा नुहाउने, गाईभैंसी चराउन जाँदा त्यहीँ पानी खुवाउने र भैंसीलाई नुहाइदिने गरेको स्मरण गरेका छन्। त्यतिबेला विभिन्न जलचरले भरिपूर्ण रहेको नाला अहिले सुकेको अवस्थामा देख्दा आफू निकै दुःखी र चिन्तित भएको उनको भनाइ छ।
नगर प्रमुख ओझाले बालुवा नाला किनारका बासिन्दा तथा सरोकारवालासँग छलफल गर्दा नाला अतिक्रमण नै समस्या बढ्नुको मुख्य कारणका रूपमा देखिएको बताएका छन्।
उनले बालुवा नालालाई पुरानै अवस्थामा फर्काउनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यसको संरक्षण, पुनर्जीवन र अतिक्रमण हटाउने काममा नगरपालिका प्रतिबद्ध रहेको बताएका छन्। यसका लागि आवश्यक योजना र पहल अघि बढाइएको तथा आगामी दिनमा थप प्रभावकारी ढंगले काम गरिने उनले जनाएका छन्