सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरको विश्वशान्ति योग आश्रम : स्वास्थ्य, शान्ति र प्राकृतिक सौन्दर्यको आकर्षक गन्तव्य

२०८३ असार २०, ०५:२६ खबर संवाददाता

 कैलाली :   कैलालीको टीकापुरस्थित रानीजमरा नदी किनारमा रहेको विश्वशान्ति योग आश्रम स्वास्थ्य, शान्ति, योग र प्राकृतिक सौन्दर्यको उत्कृष्ट गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरूको आर्थिक सहयोगमा निर्माण भइरहेको यस आश्रमको शिलान्यास वि.सं. २०८१ वैशाख ५ गते गरिएको हो।

आश्रमका संस्थापक योग गुरु दृर्घराज गिरि विगत २० वर्षदेखि निःशुल्क योग अभियानमा समर्पित रहँदै आउनुभएका छन्। उनको अथक मेहनत, समर्पण र सेवाभावका कारण आज आश्रममा हरेक बिहान ४ बजेदेखि ७ बजेसम्म तीन घण्टा निःशुल्क योगाभ्यास सञ्चालन हुँदै आएको छ। दैनिक ७०–८० जना योग साधक नियमित रूपमा योगाभ्यासमा सहभागी हुने गरेका छन्।

योगाभ्यासका अतिरिक्त आश्रमको प्राकृतिक सौन्दर्यले पनि सर्वसाधारणलाई आकर्षित गरिरहेको छ। हरियाली वातावरण, फूलबारी, खुला परिसर र शान्त वातावरणका कारण दैनिक करिब १०० जना आन्तरिक तथा बाह्य आगन्तुक आश्रम अवलोकनका लागि पुग्ने गरेका छन्। आश्रममा आउने आगन्तुकको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ।

योग गुरु गिरिका अनुसार योग केवल शारीरिक व्यायाम मात्र नभई स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैली निर्माण गर्ने माध्यम हो। यही उद्देश्यका साथ आश्रममा निःशुल्क योग प्रशिक्षणलाई निरन्तरता दिइएको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण आश्रम परिसरमा खिचिएका आकर्षक तस्बिरहरूले जो–कोहीलाई लोभ्याउँछन्। रमणीय वातावरण, हरियाली र शान्त परिवेशका कारण विश्वशान्ति योग आश्रम टीकापुर आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बन्दै गएको छ। यहाँ पुग्नेहरूले स्वास्थ्य लाभसँगै प्रकृतिको अनुपम आनन्द पनि लिन सक्ने भएकाले धेरैले यसलाई टीकापुरको अर्को सुन्दर गन्तव्यका रूपमा लिन थालेका छन्।

कमेन्ट लोड गर्नुस