सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यात्रुमैत्री पहल: चालक–परिचालकका लागि गाडी नम्बरयुक्त आइडी कार्ड लागू

२०८३ असार २३, ०४:३४ खबर संवाददाता

धनगढीः सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यसहित सुन्दर सुदूरपश्चिम यातायात प्रालिले गाडी नम्बर उल्लेख भएको चालक, परिचालक र सहचालकको आधिकारिक परिचयपत्र (आइडी कार्ड) प्रणाली लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब प्रत्येक बसमा कार्यरत चालक, परिचालक र सहचालकले आफू कार्यरत गाडी नम्बर अंकित आइडी कार्ड अनिवार्य रूपमा प्रयोग गर्नेछन्। यसले बसपार्कमा आउने यात्रुलाई आफू चढ्ने गाडी र सम्बन्धित कर्मचारीको सहज पहिचान गर्न मद्दत पुग्ने प्रालिले जनाएको छ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाका अनुसार यात्रुको सहजता र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। परिचयपत्र प्रयोगले सही गाडी पहिचान सजिलो हुने, अनावश्यक अन्योल हट्ने र बसपार्कमा सक्रिय दलालहरूको चलखेल नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए।

यस्तै, प्रालिका कोषाध्यक्ष गोविन्द शाहले टिकट लिन आउने यात्रुलाई समेत यस व्यवस्थाले प्रत्यक्ष लाभ पुग्ने बताए। उनका अनुसार आधिकारिक कर्मचारी सहजै चिनिन सकिने भएकाले टिकट खरिददेखि गाडीमा सवार हुने प्रक्रियासम्म थप व्यवस्थित र सुरक्षित हुनेछ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले यात्रुमैत्री सेवा विस्तारसँगै पारदर्शी र भरपर्दो सार्वजनिक यातायात प्रणाली निर्माणका लागि यस्ता सुधारात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

कमेन्ट लोड गर्नुस