मोहना नदीको कटानसँगै अव्यवस्थित प्लटिङको मार, धनगढी–३ को बस्ती दोहोरो जोखिममा
कैलाली: कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको मोहना नदीले गत सातादेखिको वर्षापछि पुनः जमिन कटान गर्न थालेको छ। नदी किनारमा बाँध निर्माण गरिए पनि एक स्थानबाट कटान सुरु भएपछि स्थानीय त्रसित बनेका छन्। नदीले खेतीयोग्य जमिनमा क्षति पुर्याउन थालेको छ भने अव्यवस्थित पानी निकासका कारण बस्तीसमेत डुबानको जोखिममा परेको स्थानीयको गुनासो छ।मोहना नदिमा पहाडी जिल्लाबाट बग्ने पानी समेत गोदावरी नदिको माध्यमबाट मोहना नदिमा मिश्रति हुन्छ।अब,यो बर्ष यहाँका स्थानीयमा संकट देखिएको छ।
स्थानीयका अनुसार बोराडाँडीको डिलाशैनी टोल र शिवनगर टोलको वर्षाको पानी समेत मोहना नदीमा मिसिने गर्छ। तर नदी किनार नजिकै घर निर्माण तथा पानी निकास हुने प्राकृतिक मार्गमै संरचना बनाइएका कारण पानीको बहाव अवरुद्ध भएको छ। यसले वर्षायाममा बस्तीभित्र पानी जम्ने समस्या बढ्दै गएको उनीहरू बताउँछन्।
पानी निकास हुने स्थानमै सेप्टिक ट्याङ्की निर्माण गरिएकाले बहाव रोकिएको र बस्तीमा डुबानको जोखिम झन् बढेको स्थानीयको भनाइ छ। कतिपय स्थानमा गरिएको प्लटिङका कारण नाली साँघुरिएको छ भने पानी निकासका लागि जडान गरिएका होमपाइपबाट पनि पर्याप्त पानी बाहिरिन सकेको छैन।
स्थानीयहरूका अनुसार एकातर्फ मोहना नदीको कटानले खेतीयोग्य जमिन मासिँदै गएको छ भने अर्कोतर्फ अव्यवस्थित प्लटिङ र पानी निकासको समस्याले बस्ती नै जोखिममा परेको छ। सामान्य वर्षामै घर आँगनमा पानी जम्ने र ठूलो वर्षा भए डुबानको खतरा बढ्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
यद्यपि सम्बन्धित जग्गाधनीसँग लालपुर्जा भएकाले आफ्नो जग्गामा संरचना निर्माण गर्ने कानुनी अधिकार रहेको छ। तर त्यस्ता निर्माणका कारण सार्वजनिक पानी निकास प्रभावित हुँदा समग्र बस्ती नै जोखिममा परेको स्थानीयको तर्क छ।
मोहना नदीको कटान अहिले खेतसम्म पुगे पनि बस्ती केही मिटरको दूरीमै रहेकाले समयमै संरक्षणको काम अघि नबढाइए ठूलो क्षति हुन सक्ने स्थानीयको चिन्ता छ। उनीहरूले नदी नियन्त्रण, व्यवस्थित पानी निकास र अव्यवस्थित प्लटिङको नियमन गर्न सम्बन्धित निकायसँग तत्काल पहल गर्न माग गरेका छन्।