सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

२०८३ असोज २७, १२:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बजेट विवाद समाधान गर्न संसदीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

आइतबार सार्वजनिक भएको बजेट पारित गर्ने र बजेटमा देखिएका बेथिति छानबिनमार्फत हटाउने निर्णय भएको नेकपा सांसद अक्कल रावलले जानकारी दिए। उनका अनुसार प्रदेशसभाबाट अनुमोदन हुने गरी संसदीय छानबिन समिति गठन गरिनेछ। समितिले छानबिन गरेपछि कात्तिक १५ गतेभित्र बजेटमा रहेका बेथिति पूरक बजेटमार्फत हटाउने सहमति भएको उनले बताए।

‘अहिले आइतबार सार्वजनिक भएको बजेट नै पारित गर्ने तर पुँजीगत खर्च नगर्ने सहमति भएको छ,’ रावलले भने। आर्थिक वर्ष सुरु भएको ८५ दिनपछि सार्वजनिक भएको सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट सत्तारुढ दलभित्रै विवादमा सुरु भएको थियो। बजेट निर्माणमा बिचौलियाको प्रभाव, कमिसनको खेल र पहुँचका आधारमा योजना छनोट गरिएको आरोप लागेको थियो। 

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए। तर, बजेटमाथिको छलफल भने सुरु भएको छैन । आज बिहान ९ बजे बोलाइएको प्रदेशसभा बैठक १ बजेका लागि सारिएको छ। नेकपाभित्र भएको सहमतिले बजेट आजै पारित हुने सम्भावना रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस