फेरि बनगाउँबाट बढ्दो किनमेलले नेपाली बजार सुनसान, भन्सार नियम कार्यान्वयन फितलो
धनगढी: भारतको बनगाउँ बजारमा नेपाली उपभोक्ताको बढ्दो किनमेलका कारण कैलाली–कञ्चनपुरका स्थानीय बजारमा व्यापार घट्न थालेको छ। दुई महिनाअघि लागू गरिएको १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार तिर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा नेपाली व्यवसायी चिन्तित बनेका छन्।
नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै पछिल्लो समय कैलालीको त्रिनगर भन्सार नाका भएर ठूलो संख्यामा नेपाली उपभोक्ता भारतको बनगाउँ बजारमा किनमेल गर्न जाने क्रम फेरि बढेको छ। यसले धनगढीलगायत कैलाली र कञ्चनपुरका स्थानीय बजारको व्यापारमा प्रत्यक्ष असर पर्न थालेको व्यवसायीहरूको गुनासो छ।
दुई महिनाअघि त्रिनगर नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरिएको थियो। त्यसबेला सशस्त्र प्रहरीले नाकामा नियमित माइकिङ गर्दै नियमबारे जानकारी गराएको थियो। केही सातासम्म नियम प्रभावकारी रूपमा कार्यान्वयन हुँदा भारतीय बजार जाने नेपालीको संख्या उल्लेख्य रूपमा घटेको थियो।
तर पछिल्लो समय उक्त माइकिङ बन्द भएसँगै अवस्था फेरिएको छ। अहिले दैनिक रूपमा सयौं नेपाली उपभोक्ता बनगाउँ पुगेर लत्ताकपडा, श्रृंगार सामग्री, जुत्ता–चप्पल, भाँडाकुँडा तथा अन्य उपभोग्य वस्तु किनेर भन्सार नतिरी नेपाल ल्याउने क्रम बढेको स्थानीय व्यवसायीहरू बताउँछन्।
विशेषगरी साउन महिना सुरु भएसँगै हरियो चुरा, पोते, साडी, कुर्ता, मेहन्दी तथा अन्य श्रृंगारका सामग्रीको माग बढेको छ। यही अवसरलाई उपयोग गर्दै धेरै नेपाली उपभोक्ता सस्तो पाइने आशामा भारतीय बजार पुग्ने गरेका छन्।
स्थानीय व्यवसायीका अनुसार भारतीय बजारमा केही सामान सस्तो देखिए पनि गुणस्तर र मूल्यका हिसाबले उपभोक्ता धेरै अवस्थामा ठगिने गरेका छन्। एउटा सामानको मूल्य घटाएको देखाएर अर्को सामानमा बढी मूल्य असुल्ने प्रवृत्ति रहेको उनीहरूको भनाइ छ। मूल्य तुलना नगरी किनमेल गर्दा नेपाली उपभोक्ताले अनाहकमा बढी रकम खर्च गर्ने अवस्था रहेको व्यवसायीहरूको दाबी छ।
यता चाडपर्व नजिकिँदै गर्दा स्थानीय व्यापार थप प्रभावित हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्। खुला सीमामा प्रभावकारी निगरानी नहुँदा नेपाली बजारको कारोबार खस्किने र राज्यको राजस्वसमेत गुम्ने उनीहरूको भनाइ छ।
हाल नाकामा लागूऔषध, अवैध तथा निषेधित वस्तुको चेकजाँच भने कडाइका साथ भइरहेको छ। तर उपभोग्य सामान ठूलो परिमाणमा ल्याउँदा पनि भन्सार तिर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको व्यवसायीहरूको आरोप छ।
स्थानीय व्यवसायीहरूले नेपाली बजार, आन्तरिक व्यापार र राजस्व संरक्षणका लागि सरकारले सीमा नाकामा भन्सार नियम कडाइका साथ लागू गर्न, नियमित अनुगमन बढाउन तथा अवैध रूपमा सामान भित्रिने कार्य रोक्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।