सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाको स्मृतिमा यादव जोशीद्वारा ‘हरिना फर घरिना’ अभियान सुरु

२०८३ असार २९, ०५:२८ खबर संवाददाता

डडेल्धुरा: बोलन्या थलीका संयोजक तथा समाजसेवी युवा यादव जोशीले आफ्नी स्वर्गीय आमा हरिना जोशीको स्मृतिमा सञ्चालन गरेको ‘हरिना फर घरिना अभियान’ को औपचारिक शुभारम्भ गरेका छन्।

आफ्नो वार्षिक आम्दानीको केही हिस्सा सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धताअनुसार जोशीले यस वर्ष एक लाख रुपैयाँ बराबरको सहयोग घोषणा गरेका थिए। सोही अभियानअन्तर्गत सोमबार गन्यापधुरा गाउँपालिका–२ का ३८ जना विवाहित, विपन्न तथा गृहणी महिलालाई गुलाबको फूल र साउनको हरियो साडी वितरण गर्दै अभियानको सुरुवात गरिएको हो।

कार्यक्रममा सहभागी केही महिला स्वर्गीय हरिना जोशीका समकालीन तथा पुराना सङ्गिनीहरू रहेको बताइएको छ। आमाको स्मृतिलाई समाजसेवासँग जोड्दै विपन्न महिलाको सम्मान र हौसला अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको संयोजक जोशीले बताए।

गन्यापधुरा गाउँपालिका–२ का वडाध्यक्ष मनोज देउवाको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीय महिलाले अभियानको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

जोशीका अनुसार अभियानको आगामी चरण डोटीको लाना घाँगल क्षेत्रमा सञ्चालन गरिनेछ। सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै आमाको नाममा सुरु गरिएको यो अभियानले सुदूरपश्चिमका विपन्न गृहणी महिलाको जीवनमा खुसी र सम्मानको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस