बुधबार पूर्वाधार विकास कार्यालय कैलालीमा आएका महिलाहरूले मागे माफी
धनगढी: बुधबार पूर्वाधार कार्यालय कैलालीमा धनगढी-५ शान्तिनगर टोलका महिलाहरूहरूले गालीगलौज र तोडफोड गरेको भन्दै पूर्वाधार विकास कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि दुबै पक्षबीच समझदारी भएको छ।
जिल्ला प्रहरी कार्यालयमा बिहीबार भएको छलफलमा बुधबार कार्यालय पुगेका महिलाहरूले आवेगमा आएर अपशब्द बोल्दै सूचनापाटी र सुझाव पेटिकामा तोडफोड हुन पुगेको स्वीकार गरेका हुन्।
पूर्वाधार कार्यालय कैलालीका प्रमुख डिभिजनल इन्जिनियर दीपक नेगीले कार्यालयमा आएर तोडफोड गर्दै गालीगलौज गरेको भन्दै स्थानीय दुर्गा भट्टसहितका १०/१२ जना महिलाको नाममा उजुरी दर्ता गरेका थिए।
त्यसपछि भएको छलफलमा महिलाहरूले आफूहरूले गरेको कार्यमा गल्ती भएको स्वीकार गर्दै माफी मागेपछि मिलापत्र भएको डिभिजनल इन्जिनियर नेगीले दिनेशखबरलाई बताए।
महिलाहरूले अब उप्रान्त कुनै पनि सरकारी कार्यालयमा प्रवेश गरी उच्छृङ्खल क्रियाकलाप नगर्ने सहमति गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। महिलाहरूले आफूहरूको तर्फबाट गल्ती भएको स्वीकार गरेपछि दुबै पक्षबीच सहमति भएको प्रहरीले जानकारी दिएको छ।
यसअघि पूर्वाधार कार्यालय कैलालीले कार्यालयमा भएको तोडफोड र अराजक गतिविधिमा संलग्नउपर कारबाहीका लागि उजुरी दर्ता गरेको थियो।
पूर्वाधार विकास कार्यालयले "सार्वजनिक सम्पत्तिको रुपमा रहेका सूचना पाटी, गुनासो पेटिका तथा फर्निचर/कुर्सी जस्ता राज्यको सार्वजनिक सम्पत्ति तोडफोड गरी कर्मचारी उपर गाली-गलौज गरी मूल ढोकामा तालाबन्दी गरी कार्यालयको काममा अवरोध गरेको" दाबी गरिएको थियो।
उजुरीमा "सरकारी कार्यालयमा हुलहुज्जत गरी तोडफोड गर्ने, राष्ट्र सेवक कर्मचारीलाई गाली-गलौज गर्दै भयभीत तुल्याउन खोज्ने कार्य मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद-२६ (सार्वजनिक शान्ति विरुद्ध कसुर), स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित सार्वजनिक सम्पत्ति संरक्षण सम्बन्धी कानुनी व्यवस्थाअनुसार दण्डनीय अपराध भएकाले उनीहरूलाई कारबाहीको माग गरेको थियो।"