सेती अस्पतालमा सेवाग्राहीको गुनासो : ‘डाक्टरको रुखो व्यवहार र अव्यवस्थित सेवाले दिनभरि भौतारिनुपर्यो’
धनगढी: सुदूरपश्चिम प्रदेशकै रेफरल केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचार सेवा लिन आएका सेवाग्राहीले डाक्टरको रुखो व्यवहार र अव्यवस्थित सेवा प्रवाहका कारण सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। विशेषगरी अस्पतालको नशा तथा हाडजोर्नी ओपिडीमा कार्यरत चिकित्सकको बोल्ने शैलीप्रति सेवाग्राही असन्तुष्ट देखिएका छन्।
धनगढीकी सिता गिरीले कंचनपुरबाट आफ्नी (दिदी)आफन्तलाई हाडजोर्नीसम्बन्धी समस्या देखाउन बिहानै अस्पताल ल्याएको बताइन्। उनका अनुसार उनी बिहान ८ बजे नै अस्पताल पुगेर टिकट काट्न लाइनमा बसेकी थिइन्। करिब आधा घण्टापछि मात्र टिकट काट्ने पालो आएको थियो।
“टिकट काट्ने क्रममा अर्को सेवाग्राहीले मेरो पर्चा साटिदिएछ,” सिताले भनिन्, “त्यसपछि करिब १० मिनेटसम्म आफ्नो पर्चा खोज्नुपर्यो। टिकट काउन्टरमै अत्यधिक भीड हुँदा पालोअनुसार सेवा पाउनै मुस्किल भयो।”
टिकट पाएपछि उनी बिरामीसहित रक्तचाप (बीपी) जाँच गर्ने स्थानमा पुगिन्। त्यहाँ पनि लामो समय पालो कुर्नुपर्दा टिकट लिनेदेखि बीपी जाँच सकिनै साढे १२ बजिसकेको उनले बताइन्।"बिपि त डाक्टरले आफै जाँच्नुपर्ने हो र अरुले गर्ने भएकाले पालो पर्खिनमा समय लाग्छ,उनले भनिन् ।"
त्यसपछि डाक्टरलाई भेट्ने पालो आए पनि चिकित्सकले १ नबज्दै “नास्ता खान जान्छु, पछि आउनु” भन्दै फर्काएको उनको गुनासो छ।
“हामीले धेरै टाढाबाट आएका छौँ, एकपटक हेरेर दिनुस् भनेर अनुरोध गर्यौँ,” सिताले भनिन्, “तर डाक्टरले ‘तपाईंजस्ता धेरै बिरामी आउँछन्, हामीले सबैलाई हेर्नुपर्छ, २ बजेपछि आउनुस्’ भन्दै रुखो व्यवहार गर्नुभयो।”
उनका अनुसार त्यसपछि चिकित्सकले छाती र कम्मरको एक्स–रे गर्न पर्चामा लेखिदिए। उनीहरू एक्स–रे कक्षमा पुगे पनि करिब दुई घण्टापछि मात्र एक्स–रे गर्ने पालो आएको थियो। रिपोर्ट तयार हुन थप आधा घण्टा लागेको उनले बताइन्।
साँझ ४ बजेपछि पुनः रिपोर्ट देखाउन डाक्टरकहाँ पुगेपछि अर्को समस्या आएको सिताले सुनाइन्।
“डाक्टरले छाती र कम्मर दुवैको एक्स–रे गर्न भनेको रहेछ, तर एक्स–रे कक्षमा छातीको मात्र गरियो,” उनले भनिन्, “डाक्टरले ‘मैले दुई ठाउँको एक्स–रे भनेको हो, एउटा मात्रै गरेर कसरी आयौ ?’ भन्दै फेरि बाहिर पठाइदिनुभयो।”
आफूहरू सामान्य नागरिक भएकाले अस्पतालभित्रको प्रक्रिया थाहा नहुने उल्लेख गर्दै उनले सम्बन्धित कर्मचारीले पर्चाअनुसार सेवा दिनुपर्ने बताइन्।
“हामी धेरै पढेलेखेका छैनौँ। दक्ष जनशक्तिले पर्चाअनुसार सेवा गरिदिनुपर्ने हो। तर यताउता भौतारिँदै दिनभरि बित्यो,” सिताले भनिन्।
उनका अनुसार साँझ ५ बजेपछि चिकित्सकको ओपिडी सेवा बन्द भइसकेकाले एउटा एक्स–रेको त्रुटिकै कारण दिनभर अस्पतालमा बिताउँदा पनि उपचार पाउन नसकी निराश भएर घर फर्किनुपरेको थियो।
“टाढाबाट आएका बिरामीलाई यसरी सास्ती दिनु दुःखद हो। अब फेरि भोलि आउनुपर्ने भयो,” उनले निराश हुँदै भनिन्।
सेती प्रादेशिक अस्पतालका चिकित्सकहरू निजी अस्पतालमा समेत सेवा दिने भएकाले सरकारी अस्पतालमा बिरामीप्रति पर्याप्त समय नदिने गरेको भन्दै सर्वसाधारणबाट बेला–बेलामा गुनासो आउने गरेको छ।
प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालबाट अपेक्षाअनुसार सहज, छिटो र सेवामैत्री उपचार सेवा नपाउँदा दैनिक सयौँ सेवाग्राही समस्यामा पर्ने गरेका छन्। सेवाग्राहीले अस्पताल प्रशासनले सेवा प्रवाह, भीड व्यवस्थापन तथा चिकित्सकको सेवामुखी व्यवहार सुधारतर्फ तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।