आजदेखि अग्रिम बस टिकट खुला, रातिदेखि टिकट लिन यात्रु लाइनमा
काठमाडौँः दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ।
सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो। यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मङ्गलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
केही जिल्लाका यात्रु भने गए रातिदेखि टिकट लिन लाइनमा बसेका छन्। नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले गए राति ९ः०० बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिए।
मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु आज रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए। दसैँको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ।