कैलालीमा एक वर्षमा १ हजार ९५० प्रतिवादी पक्राउ, ७ करोडभन्दा बढीका भन्सार छलीका सामान बरामद
धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीले आर्थिक वर्ष २०८२/०८३ मा अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा कायम तथा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार एक वर्षको अवधिमा १ हजार ९२९ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् भने १ हजार ९५० जना प्रतिवादी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्दका अनुसार जघन्य तथा गम्भीर प्रकृतिका ५७१ मुद्दा दर्ता भएका छन्। चालु मुद्दामध्ये ३१८ जना प्रतिवादी अझै फरार रहेका छन्।
फैसला कार्यान्वयन अभियानअन्तर्गत ८२६ जनालाई पक्राउ गरी २२२ वर्ष ३ महिना ४ दिन कैद सजाय कार्यान्वयन गरिएको छ। साथै, २ करोड २१ लाख २ हजार ४२ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५२३ उजुरी दर्ता भएको तथ्यांक छ। हराएका ९७६ जनामध्ये ९४५ जनालाई प्रहरीले फेला पारेको छ भने घरेलु हिंसाका ५२३ उजुरीमध्ये ४३८ वटा मिलापत्रमार्फत समाधान गरिएको छ। यस अवधिमा कार्यालयमा परेका ३ हजार ३२७ ठाडा उजुरी शतप्रतिशत फर्छ्यौट गरिएको प्रहरीको दाबी छ।
लागूऔषध नियन्त्रणतर्फ पनि प्रहरीले सक्रियता बढाएको जनाएको छ। आर्थिक वर्षभर ४११ मुद्दा दर्ता गरी ६१९ जनालाई पक्राउ गरिएको छ। यस क्रममा ३० किलोभन्दा बढी चरेश, ९४६ ग्रामभन्दा बढी खैरो हिरोइन, गाँजा तथा १ हजार ६४२ वटा लागूऔषध ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
वार्षिक तथ्यांकअनुसार कैलालीमा एक वर्षको अवधिमा २९८ जनाले आत्महत्या गरेका छन्। तीमध्ये अधिकांश घटना झुण्डिएर ज्यान दिएको प्रकृतिका रहेको प्रहरीको विवरणमा उल्लेख छ।
शान्ति सुरक्षाका लागि प्रहरीले वर्षभर ३९ हजार ५२१ पटक विभिन्न सुरक्षा गतिविधिमा परिचालन गरेको जनाएको छ। यस अवधिमा ६०१ सवारी दुर्घटना हुँदा ८२ जनाको मृत्यु भएको, ९७४ जना घाइते भएको तथा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ७ करोड ३२ लाख ९३ हजार ३५६ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ। साथै, १४ हजार ५४५ लिटर अवैध मदिरा र ७ हजार ६३५ लिटर मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको छ। प्राकृतिक स्रोत दोहन तथा अवैध वन पैदावार नियन्त्रणबाट समेत लाखौँ रुपैयाँ राजस्व संकलन भएको प्रहरीको दाबी छ।
समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउने उद्देश्यले आर्थिक वर्षभर २ हजार ६५१ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ७८ हजार ४३५ जना प्रत्यक्ष लाभान्वित भएका छन्। यस अवधिमा ५० हजार ५१२ सेवाग्राहीले विभिन्न प्रहरी सेवा लिएको प्रतिवेदनमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले अपराध अनुसन्धानमा सूचना प्रविधिको प्रयोग बढाउँदै भर्चुअल माध्यमबाट म्याद थप अनुमति, डिजिटल अभिलेखीकरण, नागरिक सहजकर्ता व्यवस्था तथा समुदाय–प्रहरी साझेदारीका कार्यक्रममार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ।