सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘कोरा २६’ सम्पन्न : वर्षाका बाबजुद सयौं साइक्लिस्ट सहभागी

२०८३ साउन २, ०१:१९ खबर संवाददाता

धनगढी: ओम श्रीनगर स्पोर्ट्स क्लबको आयोजना तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को समन्वयमा आयोजित कोरा २६ धनगढी सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिकूल वर्षाका बाबजुद धनगढीका युवा व्यवसायी हिमाल देशराज पाण्डेय, जीवन खड्का, भरत रावल, शिक्षक हरि भट्ट, बल्लभ दाहाललगायत सयौं साइक्लिस्टको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई भव्य बनाएको आयोजकले जनाएको छ।

स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण तथा साइकललाई दिगो र वातावरणमैत्री यातायातका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित राइडमा सहभागीहरूले करिब ६० किलोमिटर दूरी तय गरेका थिए।

राइड धनगढीबाट सुरु भई शहीदगेट, राजघाट, गेटा र भल्का हुँदै पुनः धनगढीमै पुगेर सम्पन्न भएको थियो। वर्षासँगै प्राकृतिक सौन्दर्यबीच गरिएको सामूहिक साइक्लिङले सहभागीहरूलाई उत्साहित बनाएको थियो।

कोरा नेपालले हरेक वर्ष सञ्चालन गर्दै आएको यो अभियानले नियमित साइकल प्रयोग, शारीरिक तन्दुरुस्ती, वातावरणीय जिम्मेवारी र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ। धनगढीमा सम्पन्न ‘कोरा २६’ ले पनि सबै उमेर समूहका नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन र वातावरण संरक्षणमा व्यक्तिगत योगदान पुर्‍याउन प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

वर्षाका बीच पनि सहभागीहरूले उत्साहका साथ राइड पूरा गर्दै मित्रता, अनुशासन, सहकार्य र सामुदायिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए। कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने आयोजक, स्वयंसेवक, सुरक्षाकर्मी, सहयोगी संस्था तथा सम्पूर्ण सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस