सुदूर नेपाललाई विश्वसँग जोड्दै

फैसला कार्यान्वयन अभियानमा सफलता : कैलालीबाट फरार तीन प्रतिवादी पक्राउ

२०८३ साउन २, ०३:१६ खबर संवाददाता

धनगढी: कैलाली प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले विभिन्न स्थानमा खोजतलास सञ्चालन गर्ने क्रममा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई कैलाली जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकेको थियो। अदालतको फैसला कार्यान्वयनका लागि उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराइएको उनले जानकारी दिए।

प्रहरीले अदालतबाट सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरूलाई खोजी गरी कानुनी दायरामा ल्याउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।

कमेन्ट लोड गर्नुस