सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिव–गौरी धाम परिसरमा विशेष सरसफाइ, धार्मिक सम्पदा संरक्षणमा समुदायको ऐक्यबद्धता

२०८३ साउन ३, १०:५७ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिका–४, भगवती टोलस्थित शिव–गौरी धाम परिसरमा आइतबार विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

धार्मिक तथा सार्वजनिक स्थलको संरक्षण, स्वच्छ वातावरणको प्रवद्र्धन र समुदायमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। शिव–गौरी धाम संरक्षण समाजको आयोजनामा तथा श्री देवी दल गण, व्यारेक, कैलालीको विशेष सहयोगमा सम्पन्न कार्यक्रममा भगवती टोल संस्था, नमस्ते युथ क्लब, भगवती चेतनशील आमा समूह, पतञ्जलि योग समूह तथा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय समाजसेवी, युवा, आमा समूह, टोलवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले श्रमदान गर्दै शिव–गौरी धाम परिसरको सरसफाइ, फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणमा योगदान दिएका थिए। सहभागीहरूले धार्मिक तथा सार्वजनिक स्थललाई स्वच्छ राख्दै वातावरण संरक्षण र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले अभियानमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।
आयोजकका अनुसार यस्ता अभियानले समुदायमा सरसफाइप्रति सकारात्मक चेतना अभिवृद्धि गर्नुका साथै धार्मिक सम्पदाको संरक्षणमा स्थानीयको अपनत्व बढाउने विश्वास गरिएको छ।

शिव–गौरी धाम संरक्षण समाजका सचिव इन्द्रबहादुर सिंहले विभिन्न संघसंस्था, सहयोगी निकाय तथा स्थानीयवासीको सक्रिय सहभागिताका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सरसफाइ अभियानमा सहयोग पु¥याउने श्री देवी दल गण, व्यारेक, कैलाली, भगवती टोल संस्था, नमस्ते युथ क्लब, भगवती चेतनशील आमा समूह, पतञ्जलि योग समूह, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षार्थी तथा सम्पूर्ण सहभागीलाई विशेष धन्यवाद दिनुभएको छ।

सचिव सिंहले शिव–गौरी धाम संरक्षण समाजको साधारण सभा आगामी साउन ९ गते आयोजना हुने जानकारी दिँदै सम्पूर्ण सदस्य, स्थानीयवासी, शुभेच्छुक तथा सरोकारवालालाई उपस्थित हुन आग्रह गर्नुभएको छ। साथै, शिव–गौरी धामको संरक्षण, विकास र व्यवस्थापनका लागि आजीवन सदस्यता लिएर सहयोग गर्नसमेत अनुरोध गर्नुभएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस