कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ घरेलु तथा साना उद्योग थपिए
धनगढीः घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा गत आर्थिक वर्ष २०८२/८३ मा ५ सय ५८ नयाँ उद्योग दर्ता भएका छन् ।
कार्यलयका उद्योग शाखा प्रमुख वालाराम भाटका अनुसार गत आर्थिक वर्षमा १ सय ३५ वटा उत्पादनमुलक, १ सय ८२ वटा कृषिमूलक र २ सय ४२ वटा सेवामुलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।
हाससम्म जिल्लामा घरेलु तथा साना उद्योगको संख्या १६ हजार ३५ पुगेको उनले जानकारी दिए । दर्ता भएका मध्ये ६ हजार ६ सय ९९ वटा कृषि तथा वनजन्य, ५ हजार ९ सय २३ सेवामूलक,३ हजार ३ सय ३० उत्पादनमूलक,२ वटा निर्माणमूलक, ६७ वटा पर्यटनमूलक र १४ वटा सूचना प्रविधिका रहेका उनले जानकारी दिए ।
गत आर्थिक वर्षमा स्थानीय व्यापारअन्तरगत वाणिज्यसम्बन्धी ५ सय ८५ वटा फर्म दर्ता भएका छन् । गत आर्थिक वर्षमा ३ सय १९ वटा साना तथा घरेलु उद्योग र ३ सय २७ वटा वाणिज्यतर्फका फर्मको लगतकट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
सो एक वर्षको अवधिमा १ हजार ५ सय ६५ साना तथा घरेलु उद्योग र ३ हजार २ सय २५ वाणिज्यतर्फका फर्महरु नवीकरण गरिएका जनाइएको छ । ८४ वटा साना तथा घरेलु उद्योगले पुँजी वृद्धि गरेका, ६५ उद्योगले नामसारी, ३० उद्योगले ठाउँसारी र ४५ उद्योगले नाम परिवर्तन गरेको जनाइएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा १ करोड २४ लाख १२ हजार ४ सय ९६ रुपैया राजस्व संकलन गरेको जनाएको छ ।