विद्यार्थीलाई एआईको ज्ञान र सीप, धनगढीबाट ‘एआई फर नेपाल’ अभियान सुरु
धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीबाट विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग, सम्भावना र सुरक्षित तथा जिम्मेवार उपयोगबारे जानकारी दिने उद्देश्यले ‘एआई फर नेपाल २०२६’ अभियान सुरु गरिएको छ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुदूरपश्चिम प्रदेशको आयोजनामा बिहीबार धनगढीमा आयोजित अभियानको पहिलो कार्यक्रममा विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ४ सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा विद्यार्थीलाई एआईका विभिन्न उपकरणको प्रयोग, एआईको सहायताले सामग्री तथा लेखन तयार गर्ने तरिका, तथ्यांक तथा सूचना व्यवस्थापन र दैनिक कामलाई सहज बनाउन एआईको उपयोग गर्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो।
त्यस्तै, एआईको प्रयोग गर्दा व्यक्तिगत विवरणको सुरक्षा, साइबर जोखिम तथा प्रविधिको दुरुपयोगबाट बच्ने उपायबारे पनि विद्यार्थीलाई जानकारी दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एआई प्रविधिको विस्तारसँगै यसले सिर्जना गर्ने अवसर र चुनौतीलाई समान रूपमा बुझ्न आवश्यक रहेको बताए। शिक्षा, स्वास्थ्य, कृषि तथा सार्वजनिक सेवा प्रवाहमा एआईको प्रयोग बढाउन सके सेवा र कामलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।
प्रविधिको प्रयोगसँगै त्यसबाट हुन सक्ने दुरुपयोग र जोखिमबारे विद्यार्थीलाई सचेत गराउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेकोमा क्यान महासंघलाई धन्यवाद दिए। उनले प्रविधिसम्बन्धी सीप विकासका क्षेत्रमा प्रदेश सरकारबाट आवश्यक सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष तथा वान कभर प्राइभेट लिमिटेडका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले विद्यालय तहबाटै एआईसम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गर्न आवश्यक रहेको बताए।
उनले विद्यार्थीलाई एआईका प्रयोगकर्ता मात्र नभई सिर्जनाकर्ता र समस्या समाधानकर्ता बनाउने अभियानको उद्देश्य रहेको बताए।
‘युवालाई एआईका प्रयोगकर्ता मात्र नभई सिर्जनाकर्ता र समस्या समाधानकर्ता बनाउनुपर्छ,’ अधिकारीले भने, ‘विद्यालय तहदेखि नै आवश्यक सीप प्रदान गर्न सके आगामी दिनमा दक्ष सूचना प्रविधि जनशक्ति उत्पादन गर्न सहयोग पुग्छ।’
अधिकारीका अनुसार एआईसँग सम्बन्धित ठगी, साइबर अपराध तथा डिजिटल सुरक्षाका विषयमा समेत विद्यार्थीलाई सचेत गराउन अभियानले प्राथमिकता दिएको छ।
प्रयोगात्मक सिकाइमा जोड
प्रशिक्षणका क्रममा एआई तथा डाटा प्रशिक्षक बाबुराम श्रेष्ठले विद्यार्थीलाई विभिन्न एआई उपकरण सञ्चालन तथा प्रयोग गर्ने तरिका सिकाएका थिए।
विद्यार्थीले एआईको सहायताले सामग्री तयार गर्ने, लेखन सुधार गर्ने, सूचनालाई व्यवस्थित गर्ने तथा विभिन्न समस्याका सम्भावित समाधान खोज्ने अभ्यास गरेका थिए।
आयोजकका अनुसार शिक्षा, स्वास्थ्य, वित्त, व्यवसाय, इन्जिनियरिङ तथा सिर्जनशील क्षेत्रमा एआईको प्रयोग बढ्दै गएकाले विद्यार्थीलाई यसको आधारभूतसँगै व्यावहारिक ज्ञान दिन अभियान सञ्चालन गरिएको हो।
कार्यक्रम क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धनबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो।
क्यान महासंघले ‘एआई फर नेपाल २०२६’ अभियानलाई आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि विस्तार गर्ने जनाएको छ। विद्यालय तहबाटै डिजिटल सीप विकास गरी विद्यार्थीलाई उच्च शिक्षा, रोजगारी तथा उद्यमशीलताका लागि तयार पार्ने अभियानको उद्देश्य रहेको महासंघले जनाएको छ।
यसका लागि शैक्षिक संस्था, सूचना प्रविधि क्षेत्रका विज्ञ तथा उद्योगबीच सहकार्य बढाउने योजना रहेको आयोजकको भनाइ छ।
अभियानमा महर्षि कलेज, नयाँ बानेश्वर पनि सहभागी भएको छ। फार वेस्टर्न विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त कलेजले व्यवसाय प्रशासन, कम्प्युटर विज्ञान तथा सूचना प्रविधिसम्बन्धी स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
क्यान महासंघले एआईसम्बन्धी ज्ञानलाई विद्यालय तहसम्म पु¥याउँदै विद्यार्थीमा सिर्जनात्मक सोच, प्रविधिको सुरक्षित प्रयोग तथा समस्या समाधान गर्ने क्षमता विकास गर्ने लक्ष्य लिएको जनाएको छ।