सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा प्र्याङ्क भिडियो बनाउने दुई जना प्रहरी नियन्त्रणमा

२०८३ साउन १५, ०३:१५ खबर संवाददाता

अछाम: सामाजिक सञ्जालका लागि ‘प्र्याङ्क भिडियो’ बनाउने नाममा स्थानीय नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा अछाम प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चौरपाटी गाउँपालिका–५ का २० वर्षीय डण्डी जोगी र १८ वर्षीय शंकर जोगीले प्र्याङ्क भिडियो बनाउने भन्दै स्थानीय नागरिकलाई हैरानी दिने तथा अभद्र व्यवहार गरेको भन्ने जनगुनासो र निवेदन प्राप्त भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूलाई साउन १४ गते साँझ करिब ७ बजे मङ्गलसेन नगरपालिका–५ स्थित मङ्गलसेन बजारबाट नियन्त्रणमा लिएको जनाएको छ।

पीडित पक्षसँग छलफलपछि दुवैले भविष्यमा यस्ता अभद्र व्यवहार नगर्ने लिखित प्रतिबद्धता जनाएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालका लागि भिडियो बनाउने क्रममा अरूको सम्मान, गोपनीयता र सार्वजनिक शान्तिमा असर पर्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस