सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ३२ प्रतिशत शिशु पूर्ण स्तनपानबाट वञ्चित, पूरक आहारमा पनि कमजोर अवस्था

२०८३ साउन १८, ०६:०१ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा शिशु तथा बाल पोषणको अवस्था अझै चुनौतीपूर्ण देखिएको छ।

स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको स्मार्ट प्लस सर्भेअनुसार ०–५ महिनाका ६८.३ प्रतिशत शिशुले मात्र पूर्ण स्तनपान गर्ने गरेका छन्। यसको अर्थ करिब ३२ प्रतिशत शिशुले छ महिना नपुग्दै आमाको दूधबाहेक पानी, अन्य दूध वा थप खानेकुरा पाउने गरेका छन्।

सर्वेक्षणले प्रारम्भिक स्तनपानमा भने प्रदेशको अवस्था तुलनात्मक रूपमा राम्रो देखाएको छ। ९८.२ प्रतिशत बालबालिकाले जीवनमा कुनै न कुनै समयमा आमाको दूध पाएका छन् भने ८४.९ प्रतिशत शिशुले जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गरेका छन्। जन्मपछिका पहिलो दुई दिन ७९.२ प्रतिशत शिशुले केवल आमाको दूध पाएका छन्। यस्तै, १२–२३ महिनाका ९२.५ प्रतिशत बालबालिकाले स्तनपानलाई निरन्तरता दिएका छन्।

तर पूरक आहारको अवस्था कमजोर देखिएको छ। ६–८ महिनाका ८९.७ प्रतिशत शिशुले समयमै थप आहार सुरु गरे पनि न्यूनतम आहार विविधता ६२.९ प्रतिशत र न्यूनतम भोजन संख्या ५६.६ प्रतिशतमा सीमित छ। न्यूनतम स्वीकार्य आहार पाउने बालबालिकाको संख्या झन् ३७.६ प्रतिशत मात्र छ।

सर्वेक्षणअनुसार ३२.८ प्रतिशत बालबालिकाले मात्र अण्डा वा मासुजन्य परिकार सेवन गरेका छन्। ३१.४ प्रतिशत बालबालिकाले कुनै फलफूल वा हरियो सागसब्जी सेवन नगरेको पाइएको छ। अर्कोतर्फ ४३.४ प्रतिशतले गुलिया पेय पदार्थ र ३९.३ प्रतिशतले जंक खाना सेवन गर्ने गरेका छन्।

दूधदानीको प्रयोगसमेत उल्लेख्य छ। १६.७ प्रतिशत बालबालिकामा दूधदानी प्रयोग भएको पाइएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार यसको अनुचित प्रयोगले संक्रमणको जोखिम बढाउनुका साथै प्रभावकारी स्तनपानमा बाधा पुर्‍याउन सक्छ।

स्तनपानसम्बन्धी सामाजिक भ्रम पनि चुनौतीकै रूपमा छन्। कोलोस्ट्रम फाल्नुपर्ने, बच्चा रोएपछि दूध नपुगेको वा छ महिनाअघि पानी दिनुपर्ने जस्ता धारणा वैज्ञानिक आधारविहीन छन्।

विश्व स्तनपान सप्ताहको सन्दर्भमा सार्वजनिक गरिएको यी तथ्यांकले सुदूरपश्चिममा प्रारम्भिक स्तनपानको उपलब्धिलाई जोगाउँदै पूर्ण स्तनपान, गुणस्तरीय पूरक आहार र स्तनपानमैत्री वातावरणमा तत्काल सुधार आवश्यक रहेको देखाएको छ।

कमेन्ट लोड गर्नुस